नागरिक लगानी कोषको खुद नाफा ३१ करोड ४३ लाख, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको वृद्धि भएको देखिन्छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जो गत वर्षको सोही अवधिका ३० करोड ९ लाख रुपैयाँको तुलनामा ४.४३ प्रतिशतले बढी हो।
संस्थाको आम्दानी उच्च स्तरमा नबढेपनि खर्चमा भएको उल्लेख्य कटौतीले नाफामा सुधार देखिएको हो। समीक्षा अवधि अवधिमा कोषको ब्याज आम्दानी १८.८७ प्रतिशतले घटेको छ। तर, सेवा शुल्क तथा कमिशन आम्दानी भने ९.१३ प्रतिशतले बढेको छ। यसैगरी, कुल आम्दानी ३.९० प्रतिशतले वृद्धिमा पुगेको छ भने कुल खर्च २४.२३ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।
नाफा सामान्य बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानी ४८ पैसा घटेर १९ रुपैयाँ ४० पैसामा सीमित भएको हो। चुक्ता पूँजीको तुलनामा खुद नाफा पर्याप्त रूपमा नबढेकै कारण प्रतिशेयर आम्दानी कमजोर देखिएको हो। असोज मसान्तसम्म कोषको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसा रहेको छ।
हाल कोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ संचित छ।













