४ लाखले पाउने एसवाई प्यानलको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । एसवाई प्यानलको आईपीओ बाँडफाँट अर्का साताको सुरुवातमा नै बाँडफाँट गर्ने गरी तयार भइरहेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ अर्का साताका सोमबार तिर बाँडफाँटको तयारी गरिरहेको हो ।
कम्पनीको आईपीओमा २१ लाख ६६ हजार ९३९ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ लाख ७ हजार ६१५ ले १०।१० कित्ता दरले शेयर हात पार्नेछन् । आईपीओमा १७ लाख ५९ हजार ३२४ जनाको हात रित्तो हुने भएको हो ।
कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि कात्तिक १९ गतेबाट जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ४ लाख ९७ हजार ९२ कित्ता बाँडफाँड गरिसकेको छ।
कम्पनीले बाँकी कित्तामध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ दिएको छ जसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम सुनिश्चितता रहेको संकेत गर्छ।













