प्रभु इन्स्योरेन्सको मुनाफा १२.७२ प्रतिशतले बढ्यो, ब्यवसायसहित अधिकांश सूचकमा चमक

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा लोकलाग्दो प्रगति देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.७२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा कम्पनीले ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिसम्म आइपु्ग्दा बढाएर १२ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले कुल दाबी भुक्तानी साढे १३ प्रतिशतले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त भुक्तानी ९ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड, महाविपत्ति कोष १० करोड ३४ लाख र जगेडा कोष सञ्चिति २४ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४.८५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२.२७ रुपैयाँ रहेको छ ।













