जेनजी आन्दोलनका कारण निर्जीवन बीमा क्षेत्र ध्वस्त, १४ मध्ये १२ वटा कम्पनी घाटामा

३० कार्तिक २०८२, आईतवार ११:०१

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रत्यक्ष र सबैभन्दा ठूलो असर नेपाली निर्जीवन बीमा क्षेत्रमा परेको छ । बीमा कम्पनीका सिईओहरुले पुनर्बीमा नगरेका कारण ठूलो मात्रामा दायित्वका कारण पहिलो त्रैमासिक वित्तीय विवरणमा १२ वटा कम्पनीहरु घाटामा गएको देखिएको छ । कूल १४ वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये १२ वटा घाटामा भएका छन् । घाटामा गएका बीमा कम्पनीहरु मध्ये अधिकांशको घाटा दोहोरो अंक भन्दा माथि छ ।

सञ्चालनमा रहेका दुई वटा निर्जीवन बीमा कम्पनीहरु प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी मात्रै नाफामा गएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । सम्बन्धित कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १२ वटा कम्पनीहरुमा दुई अर्ब पाँच करोड रुपैयाँ घाटामा देखिएका छन् । नाफामा गएका दुई कम्पनीहरु प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स पनि क्रमशः छ करोड र तीन करोड मात्रै नाफा देखिएको छ ।

निर्जीवन बीमा कम्पनीका सिईओ र पुनर्बीमा प्रमुख तथा सञ्चालक समितिको पुनर्बीमा विभागले प्रभावकारी रुपमा काम गर्न नसक्दा तथा नियामक नेपाल बीमा प्राधिकरणले समेत प्रभावकारी नियमन नगर्दा हलुदंगा तथा आतंकवाद बीमा अन्तर्गतको पोलिसीमा कुनै पनि बीमा कम्पनीहरुले पुनर्बीमा नगरेका कारण यति ठूलो दायित्व भोग्न बाध्य भएका हुन् ।

हाल नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा एक अर्ब ९५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले मात्र मुनाफा आर्जन गर्न सफल भएका छन् । यस अवधिमा प्रभु इन्स्योरेन्सको मुनाफा ६ करोड ३१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको तीन करोड ८१ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २९ करोड ८५ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सको २८ करोड ४८ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २६ करोड ७३ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २० करोड ७६ लाख रुपैयाँ खुद नाफा ऋणात्मक रहेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको १५ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १५ करोड ११ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १० करोड ९३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १० करोड १० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको नौ करोड ६३ लाख रुपैयाँ बराबरको खुद नाफा ऋणात्मक रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको खुद नाफा नौ करोड ९५ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको मुनाफा आठ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*