फागुन २१ को निर्वाचन धरापमा, प्राविधिक रुपमा समेत असम्भव

काठमाडौं । आगामी फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनको सम्भावना लगभग समाप्त भएको छ । निर्वाचनका लागि प्राविधिक रुपमा समेत अब फागुन २१ गतेको निर्वाचन सार्नुपर्ने अवस्थामा पुगिसकेको देखिन आएको छ ।
सरकारले विदेशमा रहेका नेपालीहरुले समेत भोट हाल्न पाउने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको छ । एकातिर सरकारसँग आगामी निर्वाचनको मोडल कस्तो हुने भन्ने निश्चय गर्न बाँकी रहेको अवस्थामा आगामी फागुन २१ को निर्वाचन समय सीमाका कारण समेत असम्भव देखिएको हो ।
निर्वाचन सम्बन्धी विशेषज्ञहरुका अनुसार निर्वाचन आयोगलाई निर्वाचन सम्बन्धी अन्तिम निर्णय भएपछि पनि कम्तीमा चार महिना अर्थात १२० दिन समय सीमा अनिवार्य हुन्छ । फागुन २१ गतेको निर्वाचन आउन अब ११० दिन मात्रै बाँकी छ । निर्वाचनका बारेमा धेरै कुराहरु मिलाउन बाँकी नै रहेको, पुराना संसदवादी दलहरुले सुशिला कार्की नेतृत्वको सरकारलाई सहयोग गर्नुको साटो अप्ठेरोमा पार्दै लगेकाले पनि आगामी फागुन २१ गतेको निर्वाचन घर्किसकेको रुपमा बुझ्नुपर्ने देखिन आएको छ ।
यसअघिका निर्वाचनहरुमा निर्वाचन आयोगले १२० दिनअघि स्पष्ट नभएसम्म निर्वाचन गर्नै नसक्ने सम्मको चेतावनी दिँदै पटक पटक निर्वाचनको मिति सार्ने कार्य गरेको थियो । यस पटक १२० दिनबाट धेरै तल झरिसक्दा पनि घोषित मितिबारे कसैले केही बताउन चाहेका छैनन् ।
अब प्रश्नउठेको छ, निर्वाचन आयोग र सरकार दुवैलाई फागुन २१ मा निर्वाचन सम्भव छैन भन्ने थाहा हुँदा हुँदै पनि किन कोही केही बोल्न तयार छैैनन् । निर्वाचन सार्ने बिषय सबैभन्दा पहिले कसले बोल्ने वा ओकल्ने भनेर हेर्न मात्रै बाँकी जस्तो देखिन आएको छ ।
तस्विर:फाइल













