एक वर्षमा नेप्से झण्डै ३०० अंकले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक वर्षमा झण्डै ३०० अंकले घटेको देखाएको छ। राष्ट्र बैंकका अनुसार गत वर्षको असोज मसान्तमा नेप्से सूचकाङ्क २७४२.८९ को विन्दुमा रहेकोमा यस वर्षको असोज मसान्तमा २८४ अंकले घटेर २४८७.१८ को विन्दुमा झरेको हो।
यता धितोपत्र बजार पूँजीकरण गत वर्षको असोज मसान्तमा ४३ खर्ब ६१ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा यस वर्षको असोज मसान्तमा ४१ खर्ब ५७ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ। गत वर्षको असोज मसान्तमा बजार पूँजीकरण कुल गार्हस्थ उत्पादनको ७६.३९ प्रतिशत रहेकोमा यस वर्षको असोज मसान्तमा ६८.०८ प्रतिशत रहेको छ।
नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल संख्या २७६ रहेको छ। जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९४ हाइड्रोपावर कम्पनी, २३ उत्पादन तथा प्रशोधन कम्पनी, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन्। गत वर्षको असोज मसान्तमा सूचीकृत कम्पनीको संख्या २६७ रहेको थियो।













