केपी ओलीसँग फोटो खिचाएपछि शान्ता चौधरीको अचार पसलमा आगलागी

काठमाडौं । नेकपा (एमाले) नेतृ एवं पूर्वसांसद शान्ता चौधरीले शुक्रबार मात्रै उद्घाटन गरेको अचार पसलमा आगलागी भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार मात्रै भव्य उद्घाटन गरिएको ‘शान्ताको अचार’ पसलमा आइतबार बिहानै ३ बजे आगलागी भएको हो।
प्रहरी र दमकल सहितको टोलीले उक्त आगो नियन्त्रणमा लिएको थियो। आगलागीका कारण चौधरीको कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। शान्ता चौधरीकै पसलसँगै रहेको अर्काे फेन्सी पसलमा पनि आगजनी भएको छ। उक्त फेन्सी पसल पनि एमालेकै जिल्ला कमिटि सदस्यको भएको बताइएको छ।

शान्ता चौधरी एमालेले आयोजना गरेको विभिन्न कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने र केपी शर्मा ओली लगायत एमालेका अन्य नेताहरूसँग फोटो खिचाउने गरेको देखिन्छ।
पछिल्लो समय खासगरी जेनजी आन्दोलनपछि पुराना राजनीतिक दलहरूप्रति जनता आक्रोशित छन्। शान्ता चौधरी एमालेको कार्यक्रमहरूमा भाग लिने र फोटो खिचाउने गर्नाले आक्रोशितले आगो लगाइदिएको बताइन्छ। उनी आफैंले पनि घटना शंकास्पद भएको भन्दै छानबीनका लागि प्रहरीसमक्ष माग गरेकी छिन्।













