१२ हजार घुससहित नायब सुब्बा पक्राउ, अख्तियारले विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै उनलाई कानूनी कारबाहीको दायरा भित्र ल्याएको हो।
बैनाबट्टा सम्बन्धी मुद्दाको फैसलाको प्रतिलिपि उपलब्ध गराउनुपर्ने सेवामा नायब सुब्बा धमलाले विभिन्न बहाना बनाउँदै सेवाग्राहीसँग १२ हजार रुपैयाँ मागेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयले निगरानी अघि बढाएको थियो।
अनुसन्धानका क्रममा खटिएको टोलीले धमलालाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ। बाँके जिल्ला अदालतको मुद्दा मिसिल अभिलेख रहेको फाँट “क” मा कार्यरत उनले प्रतिलिपि उपलब्ध गराइदिने नाममा रकम माग्दै आएको अनुसन्धानमा पुष्टि भएको हो।
आयोगले धमलाविरुद्ध बिगो १२ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग दाबी समेटिएको आरोपपत्र दायर गरेको छ। आयोगको निष्कर्ष अनुसार, उनको कार्य ऐनको दफा ३ को उपदफा (१) अनुसार स्पष्ट रूपमा भ्रष्टाचारको कसूर रहेको बताइएको छ।













