क्यासिनो क्षेत्रमा कडाइ: सरकारले जारी गर्यो १२ बुँदे निर्देशन, अवैध कारोबारदेखि अनलाइन खेलसम्म पूर्ण प्रतिबन्ध

३ मंसिर २०८२, बुधबार १०:३७

काठमाडौं । सरकारले क्यासिनोलाई थप कानुनी दायरामा ल्याउन तथा अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न १२ बुँदे कडा निर्देशन जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले देशभर सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै प्रावधानको पूर्ण पालना गर्न बाध्यकारी व्यवस्था गरेको हो।

विभागले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनहरूको अनिवार्य अनुपालन गर्न क्यासिनो व्यवसायीलाई सचेत गराएको छ। साथै, नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई कुनै पनि विदेशी मुद्रा कारोबार नगर्नुपर्ने प्रष्ट स्मरण गराइएको छ। क्यासिनो नियमावली, २०८२ अनुसार तोकिएका सबै विवरण नियमित रूपमा विभागमा पेस गर्नुपर्ने व्यवस्था पनि कडाइका साथ लागू गरिएको छ।

निर्देशनअनुसार क्यासिनोले खेलाडीहरूको ग्राहक पहिचान प्रणाली र बायोमेट्रिक विवरण तोकिएकै तरिकाले अद्यावधिक गर्नुपर्नेछ। विभागले माग गरेमा उक्त विवरण तत्काल उपलब्ध गराउनुपर्ने र क्यासिनो परिसरमा हुने सबै गतिविधि सिसिटिभीमार्फत रेकर्ड गरी कम्तीमा छ महिना सुरक्षित राख्नुपर्नेछ। तेस्रो पक्षमार्फत क्यासिनो सञ्चालन गर्न नपाइने र इजाजत प्राप्त स्थान बाहेक अन्यत्र सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

खेलाडीले जितेको रकम भुक्तानी गर्नुअघि प्रचलित कानुनअनुसार आकस्मिक लाभकर अग्रिम रूपमा कट्टी गर्न क्यासिनोलाई अनिवार्य गरिएको छ। साथै, लाभकर कट्टी भएको प्रमाणपत्र खेलाडीलाई उपलब्ध गराई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजश्व कार्यालय र पर्यटन विभागमा पठाउनुपर्ने व्यवस्था राखिएको छ।

सरकारले इन्टरनेट वा अनलाइन माध्यममार्फत कुनै पनि खेल सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ। क्यासिनो तथा होटल परिसरभित्र तथा बाहिर आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने, जोखिमको आधारमा विभागद्वारा गरिने अनुगमनमा त्रुटि भेटिए तत्काल कानुन बमोजिम कारबाही हुने चेतावनी पनि निर्देशनमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*