बारामा जेनजी र एमाले आमनेसामने, महेश बस्नेतलाई ओर्लन नदिन विमानस्थल घेराउ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतलाई बाराको सिमरा विमानस्थलमा अवतरण गर्न नदिन जेनजीहरूले विमानस्थल घेराउ गरेका छन्।
बस्नेत मधेश प्रदेशमा युवा नागरण अभियान कार्यक्रममा सहभागी हुन बारा आउने कार्यक्रम निर्धारण भएसँगै उनलाई प्लेनबाट ओलर्नै नदिने रणनीतिका साथ जेनजीहरू सिमरा विमानस्थल घेराउ गर्न गएका हुन्।
जेनजी युवाहरूले विमानस्थल घेराउ गर्न थालेपछि महेश बस्नेतलाई लिन विमानस्थल पुगेका एमाले नेताहरूलाई प्रहरीले बाक्लो सुरक्षा दिएर राखेको छ भने प्रहरी र जेनजीबीच झडप समेत भएको छ। बारामा जेनजीहरूले महेश बस्नेत लगायतलाई ओर्लनै नदिने र जबर्जस्ति ओर्लिए कालो मोसो दलेर बजार घुमाउने योजनाका साथ विमानस्थल घेराउ गरेका हुन्।
अहिले सिमरा विमानस्थलमा तनावपूर्ण स्थिति बनेको छ भने बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी विमानस्थलमा खटिएका छन्। बारामा स्थिति तनावग्रस्त बनेपछि महेश बस्नेतलगायतलाई लिएर जान लागेको जहाजले काठमाडौं विमानस्थलबाटै उडान भर्न सकेको छैन।













