घट्यो पुँजी बजारः कारोबार समेत खुम्चियो, मनोबल कमजोर हुँदा अनिश्चित बाटोमा मार्केट!

३ मंसिर २०८२, बुधबार १५:०५

काठमाडौँ । नेपाली शेयर बजार आज दोहोरो अंकले घट्यो । पछिल्लो समय बजार निरन्तर सुस्त हुँदै गएको र लगानीकर्ता निराश हुँदै गएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश प्रस्ताव गरिरहेका भए पनि बजार अपेक्षाअनुसार सक्रिय हुन सकेको छैन ।

सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको भए पनि लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । विशेषज्ञहरूका अनुसार बजारमा उत्साहको कमी भावनात्मक उतार–चढाव र अनुभवहीन लगानीकर्ताको हडबडीसँग सम्बन्धित छ।

बैंकको ब्याजदर निरन्तर घट्दै गए पनि नियामक निकायहरूले नीति सुधारमा सक्रिय भए तापनि बजारमा ठूलो उत्साह देखिएको छैन । बजारको अस्थिरतालाई माफिया समूह र ठूला लगानीकर्ताको सम्भावित चलखेलसँग पनि जोडेर व्याख्या समेत भइरहेको छ ।

राजनीतिक अस्थिरता र आगामी आन्दोलनका खबरहरूले लगानीकर्तामा जोखिम लिने डर बढाएको छ । बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरणले पनि बजारमा नकारात्मक संकेत दिएको छ; धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको देखिएको छ। यसले दीर्घकालीन लगानीकर्तासमेत सतर्क बनाएको र बजारमा सतर्कता बढाएको विश्लेषकहरूले बताएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले घटेर २५६१.०८ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको शेयर सर्वाधिक १.०९ प्रतिशतले घटेको छ ।

बुधबार ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*