रौतहटमा शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापक र बिचौलिया रंगेहात पक्राउ

काठमाडौं । रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद घुससहित पक्राउ परेका छन्। शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
अख्तियारको प्रारम्भिक अनुसन्धान अनुसार प्रधानाध्यापक संजय प्रसादले रौतहट, राजदेवी नगरपालिका वडा नं. ७ का अरविन्द प्रकाश साह कानुसँग मिलेर करार शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता गरेका थिए। सेवाग्राहीले रसायन विज्ञान विषयको करार शिक्षक पदका लागि दरखास्त दिएकी अवस्थामा, प्रधानाध्यापकले परीक्षाको प्रश्नपत्र उपलब्ध गराइदिने र करारमा नियुक्ति दिलाइदिने बहाना बनाई घुस मागेका थिए।
अख्तियारले घटनालाई गम्भीर ठहर गर्दै संजय प्रसाद र अरविन्द प्रकाश साह कानुलाई नियन्त्रणमा लिएर विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत आरोपपत्र दायर गरेको छ।
अदालतमा दायर आरोपपत्र अनुसार, प्रधानाध्यापक संजय प्रसादलाई दफा ३ को उपदफा (१) बमोजिम बिगो र जरिवाना तथा अरविन्द प्रकाश साह कानुलाई दफा ३ को उपदफा (२) अनुसार कैद र बिगो सहित जरिवाना हुने माग गरिएको छ।













