निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति समक्ष सुरक्षा परिषद् बैठकको सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार सम्पन्न परिषद्को ४१औं बैठकले नेपालको संविधानको धारा २६६(१) बमोजिम यो सिफारिस अघि बढाउने निर्णय गरेको राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिएका छन्।
बैठकमा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मसौदामाथि छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गरिएको र त्यसलाई राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको पनि उनले बताए।
त्यसैगरी, बैठकमा राष्ट्रिय सुरक्षामा देखा परेका पछिल्ला घटनाक्रम र विभिन्न चुनौतीहरू, साथै भविष्यमा अपनाउनुपर्ने रणनीतिहरूको विषयमा पनि चर्चा भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति रहेको थियो।













