मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने आज मंसिर ५ गते अन्तिम दिन रहेको छ। यसअघि कात्तिक मसान्तसम्म मात्रै नाम दर्ता गराउने समयसीमा तोकिएकोमा प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि निर्वाचन आयोगले ५ दिन म्याद थपेको हो।
निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्न आउनको चाप बढेपछि सहज होस भनी राष्ट्रिय परिपत्र नम्बर भएमा अनलाइनमार्फत् नै नाम दर्ता गर्न सकिने गरी निर्वाचन आयोगले व्यवस्था मिलाएको छ। राष्ट्रिय परिचयपत्र नबनाएका व्यक्तिले बायोमेट्रिकका लागि आफूले रोजेको जिल्ला निर्वाचन कार्यालयमा जानु पर्नेछ भने राष्ट्रिय परिचयपत्र बनाएकाले त्यस्तो परिचयपत्र बनाउँदा खेरी नै दिएको बायोमेट्रिकले नाम दर्ता हुने भएकाले निर्वाचन कार्यालय धाउन नपर्ने व्यवस्था छ।
मतदाता नामावली दर्ता गराउँदा कुनै त्रुटि भएको भए त्यस्तो त्रुटि सच्याउन मंसिर २१ देखि २७ गतेसम्मको म्याद तोकेको छ। त्यसैगरी कसैले झुटो विवरण दिएको देखेमा, एकै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएमा वा मृत्यु भएका वा नागरिकता त्यागेकाको नाम मतदाता नामावलीबाट हटाउन पनि निवेदन वा उजुरी दिन सकिनेछ।
उजुरी, सूचना वा दर्ता भएका नामावलीहरू हर हिसाबले ठिक भए नभएको छानबिन गरी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ।













