युनाइटेड अजोड इन्स्योरेन्सको रेटिङ त्रिपल बी प्लस कायम, नकारात्मक प्रभावसहितको वाच हट्यो

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रेटिङ नकारात्मक प्रभावसहितको वाचबाट हटाइएको छ । रेटिङ संस्था इक्रा नेपालले जारी गरेको प्रतिवेदन अनुसार कम्पनीको इश्युअर रेटिङ पूर्ववत् त्रिपल प्लस स्तरमै कायम राख्दै यसलाई नकारात्मक प्रभावसहितको वाचबाट हटाइएको जनाएको हो ।
यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै तिर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्दछ । साथै, सोही रेटिङ कुनै विशेष ऋण साधनका लागि नभई कम्पनीको समग्र क्रेडिटयोग्यतामा आधारित राय मात्र भएको स्पष्ट पारिएको छ । रेटिङमा प्रयोग हुने प्लस तथा माइनस चिन्हहरूले सोही श्रेणीभित्र कम्पनीको तुलनात्मक स्थान जनाउने मानिन्छ ।

पछिल्लो समय कम्पनीले देखाएको वित्तीय स्थिरता, जोखिम व्यवस्थापन क्षमतामा देखिएको स्पष्टता तथा दाबी भुक्तानीको प्रभाव सामना गर्ने क्षमतामा आएको सुधारका कारण गरिएको हो । २०८२ भदौ २३ र २४ मा भएका आन्दोलन–सम्बन्धी घटनाबाट उत्पन्न दाबी तथा २०८२ असोज १७ देखि २० सम्मका बाढी–पहिराबाट सिर्जित दाबीहरूको प्रभावलाई वहन गर्न कम्पनी सक्षम रहेको तथ्यले रेटिङलाई सुदृढ बनाएको छ ।
पुनर्बिमा व्यवस्थापन, पर्याप्त नगद–तरलता तथा बलियो वित्तीय विवरणले यी दाबीहरूको भुक्तानी सहज रूपमा गर्न सहयोग पु¥याउने इक्रा नेपालको विश्लेषण छ । यद्यपि चालु आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको नाफामा केही दबाब देखिन सक्ने सम्भावना रहे पनि दाबी भुक्तानीका कारण कम्पनीको तरलता र स्थिरता प्रभावित नहुने संकेत गरिएको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (करिब २०५० सालदेखि सञ्चालनमा) र अजोड इन्स्योरेन्स लिमिटेड (२०७५ सालदेखि सञ्चालनमा) बीच मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी बनेको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको सुन्धारामा अवस्थित छ।
कम्पनीका प्रमुख शेयरधनीहरूमा चौधरी समूह प्राइभेट लिमिटेड (करिब ७.७ प्रतिशत), आई जे समूह प्राइभेट लिमिटेड (करिब ६.९ प्रतिशत), रवी भक्त श्रेष्ठ (करिब ४.७ प्रतिशत), सि.जी. फुड्स (नेपाल) लिमिटेड (करिब ३.३ प्रतिशत) तथा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड (करिब २.५ प्रतिशत) लगायतका संस्थाहरू रहेका छन्। कम्पनीमा प्रवद्र्धक र सर्वसाधारण शेयरको अनुपात ५१ र ४९ प्रतिशत रहेको छ ।
कम्पनीले देशभर १०१ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।













