नेपाल प्रिमियर लिगमा सट्टेबाजी गर्ने ८ भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिगमा (एनपीएल) सट्टेबाजीमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खु क्षेत्रमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले अनलाइन बेटिङ साइटको माध्यमबाट खेलको परिणाममा लगानी गरी सट्टेबाजीमा संलग्नता देखाएका थिए । पक्राउ पर्नेहरूमा आन्दा प्रदेशको प्रकाशम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।
सट्टेबाजीमा प्रयोग हुने उपकरणको रूपमा उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरिएको छ । प्रहरीले ती मोबाइलमार्फत प्रविधियुक्त अनुसन्धान गर्दै थप विवरण पत्ता लगाउने काम अघि बढाएको छ।













