‘प्रतिनिधिसभा विघटन असंवैधानिक’ भन्दै सर्वोच्च पुग्यो एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि एमालेले अदालत जाने निर्णय गरेको हो।
एमाले संसदीय दलको बैठकले मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई दलको तर्फबाट रिट निवेदन दर्ता गर्ने अधिकार दिएको थियो। बैठकको निर्णय अनुसार, उनीहरुले प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सबै कानुनी प्रक्रिया, वारेस नियुक्ति र कानून व्यवसायीसँगको कामकारबाही गर्ने अधिकार पाउने छन्।
यसअघि पनि प्रतिनिधिसभा विघटनको विषयमा १७ वटा रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छन्। ती निवेदन विभिन्न दलका सांसदहरूले दायर गरेका थिए। विगतमा सर्वोच्च अदालतले पनि यस्तै प्रक्रियापछि संसद पुनर्स्थापना गरेको थियो।












