हिमालयन एभरेष्ट इन्स्योरेन्स गैर कानुनी क्यासब्याक धन्दामा, ३० प्रतिशतसम्म फिर्ता गरेको खुलासा

काठमाडौं । प्रभावकारी नियमनको अभावमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याक अफर अभियान चलाएर बीमामा अस्वास्थ प्रतिस्पर्धा गरिरहेको भेटिएको छ । नियामक नेपाल बीमा प्राधिकरणले तीन वर्षअघि देखि कडा प्रतिबन्ध लगाएको क्यास ब्याक अफरमा हिमालयन एभरेष्टले खुलेआम अभियान नै चलाउँदै आएको भेटिएको छ ।
संस्थागन सुशासन विपरित अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले घरैबाट चलाइरहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा गर्दा बीमितहरुलाई बीमा शुल्क फिर्ता दिने गरेको भेटिएको छ । सो कम्पनीले नियामक नेपाल बीमा प्राधिकरणले केही महिना अघि चलाएको क्यासब्याक अफरविरुद्धको छानविनको क्रममा समेत लुकाउन सफल भएको थियो ।
बीमापोष्टलाई प्राप्त केही सूचनाहरुमा उक्त कम्पनीले विभिन्न नाममा खर्च देखाएर कम्पनीलाई बीमा शुल्क फिर्ता गर्ने गरेको पाइएको छ । त्यसरी फिर्ता गर्दा खाजा खर्च, अतिथि सत्कार खर्च आदिको नाममा प्राप्त बिलहरुको भुक्तानी गरी खर्च समायोजन गर्ने गरेको पाइएको छ ।
कम्पनीका मार्केटिङका कर्मचारीहरुलाई सिईओ अञ्जु श्रेष्ठले अन्य बीमा कम्पनीहरुको व्यवसाय खोसेर ल्याउनको लागि ३० प्रतिशतसम्म क्यासब्याक दिनु भन्ने स्पष्ट निर्देशन सहित गैर कानुनी कार्यहरु भइरहेको पाइएको हो ।
सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा कम्पनीका सूचना अधिकारी ज्ञानेन्द्र उप्रेतीले आफू प्रबक्ता नभएकोले केही बताउन नसक्ने बताए । त्यस्तै, कम्पनीका सचिव एवम् प्रवक्ता राजकुमार खड्का सम्पर्कमा आउन चाहेनन् ।













