चार सचिवको सरुवा, को कहाँ ?

९ मंसिर २०८२, मंगलवार १७:५९

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। यसै क्रममा, कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा नियुक्त गरिएको छ।

राष्ट्रिय योजना आयोगमा सचिव गोकर्णमणि दवाडीले पाँच वर्षे कार्यकाल पुरा गरी मंगलबारदेखि अनिवार्य अवकाश लिएका छन्। उनको विदाइसँगै आयोगमा सचिव पद रिक्त भएको थियो।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा स्थानान्तरण गरिएको छ। रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि उक्त मन्त्रालयमा सचिव पद रिक्त भएको थियो।

रिक्त भएको भूमि मन्त्रालयको सचिव पदमा मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेललाई सरुवा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*