उजुरीपछि ग्यास उद्योगमा वाणिज्य विभागको छापा
९ मंसिर २०८२, मंगलवार १८:१५

काठमाडौँ । कम तौलको खाना पकाउने ग्यास बिक्री भएको उजुरीपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र काभ्रेका ग्यास उद्योगमा छापा मारेको छ।
विभागले मंगलबार गराएको अनुगमनमा सातवटा ग्यास उद्योगलाई छानबिन गरेको जनाएको छ। उजुरी र गुनासोका आधारमा गरिएको अनुगमनमा ग्यासको तौलमा कुनै समस्या फेला नपरेको विभागले जानकारी दिएको छ।
अनुगमनमा काठमाडौँ–१६ बालाजुको नेपाल ग्यास उद्योग प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।
यस्तै, बनेपा–१३ साँगाको गौरी शंकर ग्यास उद्योग प्रालि, बनेपा–१० थापा गाउँको सूर्य ग्यास इण्डष्ट्रीज प्रालि, दक्षिणकाली–१ को एभरेष्ट ग्यास उद्योग लिमिटेड, बनेपा–४ थापाकोटको सगरमाथा ग्यास उद्योग प्रालि र बनेपा–१ नालाको उग्रचण्डी ग्यास उद्योग प्रालिलाई सामान्य निर्देशन दिइएको छ।













