आज सुदूरपश्चिमसँग लुम्बिनी भिड्दै, जनकपुर र पोखरा पहिलो जितको खोजीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ। आज पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन्।
खेल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ भने पहिलो खेल सुदूर र लुम्बिनीबीच बिहान ११ बजेर ४५ मिनेटमा शुरू हुनेछ भने दोस्रो खेल जनकपुर र पोखराबीच अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले यसअघिका ३ वटै खेल जितेर तालिकाको शीर्षस्थानमा रहेको छ भने रोहित पौडेलको कम्तानीमा रहेको लुम्बिनीले ३ खेलमा २ खेल हारेर तालिकाको छैटौं स्थानमा छ। आज लुम्बिनी आफ्नो दोस्रो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम चौथो जितको खोजीमा हुनेछ।
त्यस्तै अर्काे खेलमा अनिल शाहको कप्तानीमा रहेको जनकपुर र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो संस्करणको खेलमा जितविहीन अवस्थामा रहेका छन्। यी दुवै टीमले जम्मा २ वटा खेल खेलेकोमा दुवै खेलमा हार बेहोरेका छन्। जनकपुर पहिलो संस्करणको विजेता टोली हो भने पहिलो संस्करणमा पोखराले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेन। अंक तालिकामा जनकपुर सातौं स्थानमा छ भने पोखरा आठौं (अन्तिम स्थानमा) रहेको छ।













