चिनियाँ सरकारद्वारा अन्तरिक्षलाई खुला बजार बनाउने योजना सार्वजनिक

११ मंसिर २०८२, बिहीबार ०८:२३

काठमाडौं । चीनले आगामी दुई वर्षमा आफ्नो अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनी र विदेशी साझेदारका लागि अझ खुला बनाउने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरेको छ। राष्ट्रिय अन्तरिक्ष प्रशासनले प्रस्तुत गरेको यो कार्ययोजनाले निजी कम्पनीलाई अन्तरिक्ष क्षेत्रमा सहज प्रवेश दिलाउने र विदेशी बजारमा प्रवेश गर्न पनि प्रोत्साहन गर्ने संकेत दिएको छ। चीनले विकासोन्मुख देशहरूलाई उपग्रह प्रविधि निर्माणमा सहयोग गर्दै अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने तयारी रहेको जनाएको छ।

यस योजनाअनुसार निजी संस्थालाई नियन्त्रण केन्द्र, सञ्चार तथा डेटा परीक्षण प्रणाली, रकेट इञ्जिन परीक्षण स्थल र अन्तरिक्ष वातावरणको नक्कल गर्ने प्रयोगशालासम्म प्रयोग गर्न दिने व्यवस्था मिलाइनेछ। खुला प्रतिस्पर्धाबाट छनोट गरिएका निजी कम्पनीलाई उन्नत इन्धन प्रणाली, नयाँ पुस्ताका उपग्रह संरचना, सञ्चार तथा मार्गनिर्देशन प्रविधि जस्ता महत्वपूर्ण परियोजनामा सहभागी गराइनेछ। साथै निजी अन्तरिक्ष विकासलाई तीव्र बनाउन चीनले विशेष कोष स्थापना गर्ने र सरकारी खरिद प्रक्रियामा निजी क्षेत्रका उपग्रह र प्रक्षेपण स्थललाई समावेश गर्ने योजना अघि सारेको छ।

स्थानीय सरकारहरूलाई पुनः प्रयोग गर्न मिल्ने रकेट तथा स्मार्ट उपग्रह प्रविधि केन्द्र खोल्न निर्देशन दिइएको छ। यसले अनुसन्धान–परीक्षणका लागि खुला मंच उपलब्ध गराउनेछ। त्यस्तै निजी प्रक्षेपण स्थल निर्माण, अन्तरिक्ष मापदण्ड एकीकरण र अन्तरिक्ष फोहोर सम्बन्धी सबै महत्त्वपूर्ण जानकारी निजी क्षेत्रका लागि उपलब्ध गराइनेछ।

चीनले निजी कम्पनीलाई अन्तरिक्ष स्रोतको उपयोग, कक्षमा मर्मत सेवा, फोहोर हटाउने प्रविधि, अन्तरिक्ष पर्यटन र अन्तरिक्षमै जैविक उत्पादनजस्ता नयाँ क्षेत्रमा अघि बढ्न विशेष रूपमा प्रोत्साहित गरेको छ। यो कार्ययोजनाले सन् २०२७ सम्म चीनमा निजी अन्तरिक्ष क्षेत्रलाई उच्चस्तरीय रूपमा उकास्ने लक्ष्य बोकेको छ र १५औँ पञ्चवर्षीय योजनामा अन्तरिक्ष क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा अघि सारिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*