निर्वाचन आयोग अगाडि कारले स्कुटरलाई ठक्कर दिंदा एकको निधन
११ मंसिर २०८२, बिहीबार १२:५७

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ कान्तिपथ निर्वाचन कार्यालयको आयोग अगाडि कारले स्कुटरलाई ठक्कर दिंदा एक जनाले ज्यान गुमाएका छन् भने २ जना घाइते भएका छन्।
बीएपी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो। दुर्घटनामा परी स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका सन्तोष खड्काले ज्यान गुमाएका हुन्।
उक्त दुर्घटना बुधबार राति भएको हो। दुर्घटनामा परी गम्भीर रूपले घाइते भएका खड्कालाई केएमसी अस्पताल लगिएकोमा बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको हो।
सोही स्कुटरमा सवार अन्य दुईजना पनि घाइते भएका छन्। जसमध्ये १ जनालाई केएमसी अस्पतालमा र अर्का एक जनालाई टिचिङ अस्पतामा उपचार भइरहेको छ। ठक्कर दिने कारका चालकलाई प्रहरीले पक्राउ गरेर दुर्घटनाको अनुसन्धान गरिरहेको छ।













