सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब लगानी परिचालनः २० हजार योगदानकर्तालाई सापटीमार्फत राहत

११ मंसिर २०८२, बिहीबार १६:०३

काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार योगदानकर्ताबाट संकलन भएको ९५ अर्ब रुपैयाँसहित कोषको जम्मा १२६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा विनियोजन गरिएको छ। आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उनले कोषले लगानी कार्यविधिअनुसार मुद्दती खातादेखि विभिन्न ऋणपत्रसम्ममा लगानी अघि बढाइरहेको बताए।

उनका अनुसार ५८ अर्ब ८९ करोड रुपैयाँ बैंकका मुद्दती खातामा, ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा र १ अर्ब ९५ करोड रुपैयाँ म्याचुअल फन्डमा कोषले लगानी गरेको छ। यस्तै, २० हजार योगदानकर्तालाई सापटी कार्यक्रममार्फत ७ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ वितरण गरिएको जानकारी उनले दिए।

अधिकारीका अनुसार कोषले योगदानकर्ता सापटी योजनामा वार्षिक ५.२ प्रतिशत ब्याजदरमा विशेष सापटी र ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शिक्षा सापटी उपलब्ध गराइरहेको छ। उनले योग्य योगदानकर्तालाई सहुलियतपूर्ण सापटी सुविधाको उपयोग गर्न आग्रह गर्दै बैंकिङ क्षेत्रमा तरलता अधिक भएको कारण लगानी विस्तारमा केही चुनौती देखिएको बताए। उनका अनुसार यो अल्पकालीन चुनौती भए पनि कोषको योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सके वार्षिक १ खर्ब रुपैयाँसम्म संकलन गर्न सकिने र राज्यको पूर्वाधार निर्माणमा ठूलो रकम परिचालन गर्न सकिने सम्भावना छ।

उनले वैदेशिक क्षेत्रमा नियमितता ल्याउने, अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउने र सहयोगदान सुनिश्चितता गर्ने विषय कोषका मुख्य चुनौती रहेको उल्लेख गरे। अधिकारीका अनुसार हालसम्म ११४ वटा स्थानीय पालिकासँग एमओयू गरेर श्रमिक आवद्धता विस्तार गरिएको छ। केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको पनि उनले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*