मायादेवी गाउँपालिकामा ४६ लाख रुपैयाँ भ्रष्टाचार, ७ जना कर्मचारी विरुद्ध मुद्दा

काठमाडौं । कपिलवस्तुको मायाँदेवी गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको नाममा ४६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।
अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, प्रमेश्वर यादव र कृष्ण प्रसाद तिमिल्सिना, लेखा अधिकृत प्रकाश गौतम, सि.अ.हे.व. (अधिकृत छैठौं) महेन्द्र प्रसाद यादव, लेखापाल तुल्सीराम पौडेल र लेखा (सहायक पाँचौं) गिरीराज गौतम विरुद्ध मुद्दा चलाएको हो।
अख्तियारका अनुसार प्रतिवादीहरूले स्वास्थ्य कार्यक्रमका नाममा लिएको ४६ लाख ७ हजार ३०० रुपैयाँ पेश्की रकम वर्षाैंसम्म फर्छ्यौट पनि नगरेको र कार्यक्रम पनि सञ्चालन नगरेर आपसी मिलेमतोमा हिनामिना गरेका हुन्। आरोपपत्रमा आव ०७५/७६ देखि ०७८/७९ सम्म पेश्की उठाएर आवश्यक कागजात पेश नगरेको, कार्यक्रम नगरी पैसा बेरुजु राखेको र आपसी मिलेमतोमा सो रकम दुरुपयोग गरिएको उल्लेख गरिएको छ।













