मौद्रिक नीति समिक्षालाई शेयर बजारको रातो झन्डा: कारोबार खुम्चियो, किन अस्थिर मार्केट ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपनि शेयर बजारमा सुधार आउन सकेको छैन । लगानीकर्ता उठाएका माग सम्बोधन हुन नसक्दामा बजार सुधार आएन ।
जेन जी आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुँजिबजार सुधारका लागि एक समिति गठन गरेका थिए । सो समितिले दिएको सुझाव अनुसार राष्ट्र बैंकले नीति ल्याइसकेको छ । सोहि कारण समिक्षामा कुनै ठुलो परिवर्तन नभएको जनाइएको छ । तर, लगानीकर्ताले शेयर खरिदका लागि बैंकमार्फत लिने कर्जामा लागू रहेको कडाइ हटाउनुपर्ने र कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै मार्जिन कर्जा दिन पाउने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका थिए । सोहि कारण पनि बजार केहि सुस्त हुन लागेको जनाइएको छ ।
तर बजारमा अस्थिरता अझै कायम छ । राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर तथा बैंक तथा वित्तीय संस्थाको प्रथम त्रैमासिक विवरणले लगानीकर्तामा जोखिमको भावना बढाएको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई सतर्क बनाएको छ । विश्लेषकहरूले बजारको अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अकंले घटेर २६४५.२४ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन आठ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंकको ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
सोमबार १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।














