एनआरएनए कोरियाका पूर्व अध्यक्ष पुनलाई मानार्थ नागरिकता

१५ मंसिर २०८२, सोमबार ०८:२१

सिओल ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया शाखाका पूर्व अध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य दीपक पुनलाई कोरियाको सिओल महानगरपालिकाले मानार्थ नागरिकता प्रदान गरेको छ।

केही दिनअघि सिओल सिटीहलमा आयोजित विशेष समारोहमा सिओलका मेयर ओ से–हुनले उनलाई सिओलवासीहरूको प्रतिनिधि भन्दै मानार्थ नागरिकता हस्तान्तरण गरेका हुन् । यसअघि हरेक वर्ष सिओल महानगरपालिकाले सामाजिक सेवा, सांस्कृतिक विनिमय, समुदाय विकास तथा अन्तर्राष्ट्रिय छविमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान स्वरूप यो उपाधि प्रदान गर्दै आएको छ।

यस वर्षको सूचीमा कोरियास्थित नेपाली समाजका लागि लामो समयदेखि उल्लेखनीय योगदान गर्दै आएका दीपक पुन चयन भएका हुन् । दीपक पुनले एनआरएन कोरियाको नेतृत्वकै अवधिदेखि नै नेपाली कामदार, विद्यार्थी तथा परिवारहरूको हित संरक्षण, आपतकालीन सहयोग, सामाजिक एकता तथा सांस्कृतिक प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका छन्। कोरियामा बसोबास गर्ने नेपाली समुदायलाई आवश्यक सहयोग, मार्गदर्शन र अवसरहरू सिर्जना गर्न उनले खेलेको भूमिका सिओल प्रशासनले उच्च मूल्यांकन गरेको छ।

 

समारोहमा नेपाली समुदायका प्रतिनिधि, दूतावासका अधिकारी तथा सिओल महानगरका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अधिकारीहरूले दीपक पुनको सक्रियताले सिओल र नेपाली समुदायबीचको मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक पहिचान र सामाजिक सहकार्य अझ प्रगाढ बनेको उल्लेख गरे। सिओल मेयर ओ से–हुनद्वारा हस्ताक्षरित प्रमाणपत्रमा उल्लेख छ— “सिओलका नागरिकहरूको तर्फबाट तपाईँलाई सिओल सहरको मानार्थ नागरिकताका रूपमा सम्मानपूर्वक यो प्रमाणपत्र प्रदान गर्दछु।”

दीपक पुनलाई प्रदान गरिएको यो मानार्थ नागरिकता कोरियामा रहेका नेपालीहरूका लागि गर्वको विषय बनेको छ। समुदायले उनको यो उपलब्धिलाई सिओलमा नेपाली पहिचान थप मजबुत बनाउने महत्वपूर्ण क्षणका रूपमा लिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*