नरहरिनाथ गाउँपालिकाको कुलो निर्माणमा साढे १९ लाख भ्रष्टाचार

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ स्थित ओगडेनी–आडिखोला सिंचाइ कुलो निर्माणमा साढे १९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना विरुद्ध मुद्दा चलाएको छ।
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७७/०७८ का लागि उक्त योजनामा ४२ लाख ८४ हजार रुपैयाँ विनियोजन भएको थियो। सम्झौता अनुसार ९३० मिटर पक्की कुलो बनाउनु पर्नेमा ३५४ मिटर मात्रै बनाएर ७३० मिटर बनाएको भन्दै १९ लाख ४८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
अख्तियारको टोलीले उक्त कुलोको स्थलगत नापजाँच गर्दा आवश्यक संरचना, ढुंगामाटोको काम, आरसीसी तथा अन्य निर्माण सामग्री समेत पर्याप्त रूपमा प्रयोग नभएको र अत्यन्तै कमसल काम गरी ठूलो रकम भ्रष्टाचार गरेको खुलेपछि मुद्दा चलाएको हो।
यसमा तत्कालीन उपाध्यक्ष मनशोभा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का अध्यक्ष दल बहादुर विश्वकर्मा, सब–इन्जिनियर अनिल कुमार विष्ट र अमर शाही, उपभोक्ता समितिका अध्यक्ष नरेश बहादुर शाकी, कोषाध्यक्ष मधु विश्वकर्मा र सचिव कासी विश्वकर्मालाई प्रतिवादी बनाइएको छ।













