स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिक पक्राउ
१६ मंसिर २०८२, मंगलवार ०९:३२

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादव रहेका छन्।
भारतबाट पैदलयात्रा मार्फत नेपाल आउँदै गरेका यादवलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ बाट २ लाख ५० हजार भारतीय रुपैयाँ सहित सोमबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेका मनिष यादवलाई प्रहरीले घटनाको थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी–सुनसरीमा पठाइएको जानकारी दिएको छ।













