५२ करोड ७० लाखको इनरुवा–कप्ताङगञ्ज सडक ठेक्का रद्द, १६ करोड जमानत जफत गरिँदै

१६ मंसिर २०८२, मंगलवार १०:३९

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का अन्ततः तोडिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिएको हो।

सडक स्तरोन्नतिको कामका लागि २ माघ २०७८मा करसहित ५२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। साउन २०८१भित्र काम सम्पन्न गर्ने लक्ष्य तोकिए पनि करिब तीन वर्षमा निर्माण प्रगति जम्मा १८ प्रतिशत मात्र पुगेको कार्यालयले जनाएको छ। प्रगति सुस्त भएपछि ठेक्का अवधि २०८३ असारसम्म थप गरिएको थियो, तर पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढेपछि सम्झौता तोडिएको हो।

कार्यालयका अनुसार निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरेको, साइट सञ्चालनमा तदारुकता नदेखाएको र प्रतिबद्धताबमोजिम स्रोत परिचालन नगरेको स्पष्ट देखिएको छ। साथै, अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको यो जेभीले काम सुचारु गर्न नसकेको निष्कर्ष कार्यालयले निकालेको छ।

ठेक्का रद्दसँगै व्यवसायीको कार्य सम्पादन जमानतका १६ करोड ९४ लाख रुपैयाँ र २ करोड ३१ लाख रुपैयाँ पेश्की तथा १ करोड ७१ लाख रुपैयाँ अन्य बक्यौता जफत गरिनेछ। पेश्की रकम १० प्रतिशत व्याजसहित असूल गरिने योजना कार्यालयले जनाएको छ। गत साउनमा ‘किन ठेक्का नतोड्ने ?’ भनी १५ दिने स्पष्टीकरण मागिएको थियो तर पेश भएको जवाफ चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको हो।

कार्यालयले अद्यावधिक कार्यतालिका, भरपर्दो स्रोत परिचालन योजना र कार्य सम्पन्न गर्ने विश्वसनीय प्रतिबद्धता समेत प्रस्तुत नगरेको, साथै आधिकारिक प्रतिनिधि समेत समयमै उपस्थित नभएको भन्दै सम्झौता उल्लङ्घन स्पष्ट भएको बताएको छ। ऐनअनुसार बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असूल गरिनेसहित ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*