सुस्त पुँजी बजारमा निराश लगानीकर्ता, नीति राम्रो हुँदा समेत किन डुब्दै छ लगानी ?

काठमाडौँ । पछिल्लो तीन दिन यता नेपाली शेयर बजार सुस्त गतिमा चलेको छ । लगानीकर्ताहरू निराश भएका छन् र बजारमा सुधारको गति ठप्प देखिएको छ । हिजो मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरे पनि यसले बजारमा सकारात्मक प्रभाव पारेको छैन । लगानीकर्ताले उठाएका मागहरू सम्बोधन नभएको कारण पनि बजार सुस्त भएको जनाइएको छ ।
जेन जी आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुँजिबजार सुधारका लागि समिति गठन गरेका थिए । सो समितिले दिएको सुझावअनुसार राष्ट्र बैंकले नीति ल्याएको भए पनि समिक्षामा कुनै ठुलो परिवर्तन भएको छैन । लगानीकर्ताले बैंकमार्फत शेयर खरिदमा लिने कर्जामा लागू कडाइ हटाउनुपर्ने र कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्र मार्जिन कर्जा दिन पाउने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका थिए । यी माग सम्बोधन नभएको कारण पनि बजार सुस्त देखिएको विश्लेषकहरूले बताएका छन् ।
बजारमा अस्थिरता अझै कायम रहेको छ । राजनीतिक अस्थिरता, आगामी आन्दोलनको सम्भावना र बैंक तथा वित्तीय संस्थाहरूको प्रथम त्रैमासिक विवरणले लगानीकर्तामा जोखिमको भावना बढाएको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई सतर्क बनाएको छ ।
विश्लेषकहरूले बजारको अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन् । उनीहरूको भनाइअनुसार लगानीकर्ताले बढेको जोखिम र अस्थिरता मध्यनजर गर्दै शेयर खरिदमा सतर्कता अपनाइरहेका छन्। यसले आगामी दिनमा बजार सुधार आउन समय लाग्ने सम्भावना रहेको जनाइएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अकंले घटेर २६४४.७० बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको शेयर कारोबार भएको हो ।
यसदिन पाँच उपसूचक घटेका छन् भने ८ उपसूचकमा भने हरियाली आएको छ । मंगलबार १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ।














