रिलायन्स स्पिनिङ मिल्सले पायो बुक बिल्डिङ मार्फत आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई बुक बिल्डिङ मार्फत आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै बोर्डले मंगलबार ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाउँदै बुक बिल्डिङ मार्फत
आईपीओ प्रक्रियालाई अघि बढाउन निर्देशन दिएको हो।
पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’
बोर्डले रोक्का रहेको आइपीओलाई फुकुवा गरेसंगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ ।
कम्पनीले एक वर्षअघि नै प्रतिकित्ता ८२०.८० रुपैयाँको दरमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी सुरू गरेको थियो। यसअघि संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँका दरमा शेयर खरिद गरिसकेका छन्। अब कम्पनीले यसअघि कै प्रक्रिया र मूल्यबाट आईपीओ सर्वसाधारणलाई ल्याउनेछ ।
गोल्याण समूहअन्तर्गतको महत्वपूर्ण उद्योग मानिने रिलायन्स स्पिनिङ मिल्स २०५४ सालदेखि सञ्चालनमा आएको हो।













