कात्तिकमा निर्जीवन बीमा कम्पनीको व्यवसाय १७% ले बढ्यो, कुनको कति ?

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनामा तीन अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले महिना दिनमै उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनाको व्यवसा गत आर्थिक वर्षको तुलनामा १७ दशमलव ८१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको कात्तिकमा दुई अर्ब ७० करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । पछिल्लो समय विभिन्न व्यवसायहरुले र आम नागरिकहरुले आफ्ना सम्पत्तिको बीमा गराउन् थालेका छन् ।
समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय ७७.११ प्रतिशतले बढाएको छ । कम्पनीले कात्तिक महिनामा कुल ४० करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड १० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो ।
साथै, कात्तिक महिनामा शिखर इन्स्योेरेन्सको कुल बीमा शुल्क आर्जन २१.९७ प्रतिशतले बढेर ३५ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आवमा २९ करोड दुई लाख रुपैयाँ आर्जन गरेको थियो ।

सानिमा जिआईसी इन्स्योरेन्सले ३३ करोड ८५ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ३३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २८ करोड ५२ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २८ करोड २९ लाख रुपैयाँ कात्तिक महिनामा कुल बीमा शुल्क आर्जन गरेका छन् ।
समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सले २३ करोड ६६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २१ करोड ९८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १९ करोड आठ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड १४ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सले १३ करोड ५५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ८ करोड १० लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले दुई करोड २९ लाख रुपैयाँ कात्तिक महिनामा बीमा शुल्क आर्जन गरेको छ ।
पछिल्लो अवस्थामा देशमा सिर्जित अवस्थाले आम जनसमुदायलाई बीमाको महत्व बढाएको छ । राजाबादीको आन्दोलन तथा जेन–जी आन्दोलनको क्षतिले देश र समुदायलाई बीमा गर्न आवश्यक रहेछ भन्ने पाठ पढाएको छ । सरकारसमेत सरकारी सम्पत्तिको बीमा गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ ।













