आज उँधौली पर्व, यःमरि पुन्हि मनाइँदैः देशभर सार्वजनिक बिदा

१८ मंसिर २०८२, बिहीबार ०६:३४

काठमाडौं । आज मंसिर १८ गते उँधौली पर्व, यःमरि पुन्हि र धान्यपूर्णिमा पर्व एकसाथ मनाइँदैछ भने देशैभरी सार्वजनिक बिदा समेत रहेको छ।

उँधौली पर्व किराँत समुदायको मुख्य पर्व हो। आज किराँत समुदायले प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै वर्षभरी प्रकृतिले दिएको अन्नबाली र फलफूलका लागि पूजाआजा गर्ने गर्छन्। हिउँद शुरू भएकाले लेकबाट वस्तुभाउ, चराचुरुङ्गी बेसीतिर बसाई सर्ने संकेतको रूपमा पनि लिइन्छ।

त्यसैगरी देशभरका नेवार समुदायहरूले आज यःमरि पुन्हि मनाउँदैछन्। नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरूवमा बनाएर त्यसभित्र चाकु, तिल, दूधको खुवा जस्ता परिकार राखेर पानीको बाफबाट योमरी तयार गरिन्छ र परिवार तथा समाजमा बाँडेर खाने गरिन्छ।

साथै मंसिर पूर्णिमालाई नयाँ धान भित्र्याएको खुसियालीमा धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने चलन रहेकाले आजको दिनलाई धान्यपूर्णिमाका रूपमा पनि मनाइँने गरिन्छ। यी पर्वहरूका अवसरमा आज देशैभर सार्वजनिक बिदा रहेको छ। यससँगै आज सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरू, शिक्षण संस्थाहरूका साथै नेप्से पनि बन्द रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*