विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्ने पायो अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त गरेको छ।
प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्ने निर्णय गरेको हो।
भारतको सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटीले मंसिर १६ गते यस निर्यातका लागि अनुमति प्रदान गरेको बताइएको छ। यससँगै प्राधिकरणले भारतमा निर्यात गर्ने कुल विद्युत् क्षमता १,२०० मेगावाट पुगेको छ।
त्यसैगरी, प्राधिकरणले हालसम्म बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। हालै सम्पन्न दुईपक्षीय वार्तामा थप २० मेगावाट विद्युत् निर्यात गर्ने समझदारी भएको प्राधिकरणले जनाएको छ।
यस कदमसँगै नेपालको जलविद्युत् क्षेत्रमा निर्यात विस्तार हुँदै गइरहेको र क्षेत्रीय ऊर्जा बजारमा नेपालको उपस्थिति बलियो बन्दै गएको विश्लेषकहरूले बताएका छन्।













