धादिङको एकै ठाउँमा ७ सवारी दुर्घटना, ३५ जना घाइते

२१ मंसिर २०८२, आईतवार ०८:१२

काठमाडौं । धादिङमा सात वटा सवारी साधनहरू एकै ठाउँमा आपसमा ठोक्किएर दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। पृथ्वी राजमार्गस्थित धुनीवेशी नगरपालिका–६ चालिसेमा चार वटा बस, २ वटा ट्रक र एउटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटना हिजो अपरान्ह ४ बजेको समयमा भएको हो। बा प्र ००१ क ००११ नम्बरको स्कूल बस, एनएल ०१ बिए ४६५४ नम्बरको भारतीय ट्रक (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौं जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस र बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेका हुन्।

प्रहरीका अनुसार ब्रेक फेल भएको भारतीय नम्बर प्लेटको ट्रकले अनियन्त्रित भएर शुरूमा स्कूल बसलाई र सोही दिशातर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई ठक्कर दिंदा दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते हुनेमा अधिकांश स्कूल बसमा सवार विद्यार्थी रहेका छन्। चितवनको स्कूल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार ८ जना, मोटरसाइकलमा सवार १ जना र भारतीय गाडीमा सवार १ जना घाइते भएका हुन्।

प्रहरीले दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाएको छ भने दुर्घटनाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*