निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हालतमा ठीक होइनः अर्थमन्त्री

२१ मंसिर २०८२, आईतवार १०:०८

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हालतमा ठीक नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो। निजी क्षेत्रले निश्चित समयपछि छोड्ने नै हो अतः उनीहरू माथिको आक्रमण ठीक होइन। निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ।’

विधि ठीक भएन भने सुधार गर्न सकिन्छ तर सही मान्छेमाथि गलत कदम चालियो भने निरुत्साहित हुने समेत अर्थमन्त्रीको भनाइ छ। ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिनका लागि सरकार तयार छ त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन’, अर्थमन्त्री खनालले भने।

साथै जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको उनले बताए। भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिहरूबाटै यसलाई बढावा दिइयो र त्यसको अन्त्य हुनुपर्छ र सेवा प्रवाह पारदर्शी हुनुपर्छ भन्ने थियो र उनीहरूले यो माग निरन्तर गरिरहेका छन्।

निर्वाचन अपरिहार्य रहेकाले अर्थमन्त्री खनालले भने, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजान्छ। यसको अनेक क्रियाकलापहरूमा असर गर्छ। कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ। यसका लागि सकारात्मक महोल हुनुपर्छ र यसका लागि सरकार पनि लागि परेको छ।’

सबै दलहरूको सहमति र आम नागरिकको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए। सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकतान्त्रिक अभ्यासमा गएर निर्वाचन समयमै गरेको छवि बनाउनु पर्ने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय जगले राम्रो मूल्यांकन गरिरहेकाले नेपालले पनि त्यो दृष्टिकोण परिवर्तन गर्न नहुने उनले बताए। सरकारको छवि अझै सुधार गर्नका लागि नेपाल सरकारले आगामी दिनमा सुधारका काम गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*