निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फेर्नुपर्छ, सरकारले सँगै नलगे अर्थतन्त्र धराशायी हुन्छः अध्यक्ष ढकाल

२१ मंसिर २०८२, आईतवार १०:१६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिंदैन तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिंदैन यो कुरा प्रमाणित पनि भइसकेको छ ।’

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फेर्नुपर्ने आवश्यकता रहेको उनले बताए । अर्थतन्त्रका एजेन्डाहरूमा नेपाल पछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले बताए । कलेक्टिक एप्रोज पनि नभएकोमा उनले गुनासो गरे । यस्तो गर्न नसकेमा वास्तविक रिजल्ट प्राप्त गर्न नसकिने उनले बताए ।

नेपालमा केही गर्न सकिंदैन भनेर जुन प्रचार गरिएको छ त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको उनले बताए । ‘आन्तरिक पूँजी परिचालन गरेर धेरै गर्न सकिन्छ । नेपालमा केही गर्न सकिंदैन भन्ने म्यासेजलाई चिर्दै निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भनेर सन्देश दिएका छौं ।’ उनले भने ।

त्यस्तै जेनजी आन्दोलनले माग गरेजस्तै सुशासनका विषयमा निजी क्षेत्रले पनि माग गरेको उनले बताए । आन्दोलनपछि कतिपय निजी क्षेत्रले माग गरेको विषयहरू परिवर्तन भइसकेका र हुने क्रममा रहेकाले निजी क्षेत्र उत्साहित रहेको उने बताए ।

साथै उनले सीईओको हातमा निर्णय रहने भएकाले उनीहरूको चाहना अनुसार काम हुने गरेको गुनासो गरे । अध्यक्ष ढकालले भने, ‘सीईओले चाह्यो भने त्यो अध्यक्षलाई मनाएर जसरी पनि पारित गर्छ तर यदि सीईओले चाहेन भने उसले कुनै कुरा पारित गर्न मान्दैन । यस्तो किसिमको गतिविधि सबैतिर रहेको छ ।’

एफएनसीसीआईले नेपालमा लगानी प्रवद्र्धन गर्नका लागि देश तथा विदेशमा विभिन्न क्रियाकलापहरू गरेको समेत उनले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*