मलेसियामा आप्रवासी कामदारमाथि व्यापक धरपकड, कैयौं नेपाली समेत पक्राउ

काठमाडौं । मलेसिया सरकारले आप्रवासी कामदारहरूमाथि तीव्र गतिमा धरपकड अभियान थालेको छ। मलेसियाको सेलायाङ बारु क्षेत्रबाट मात्रै ८४३ जनालाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमध्ये ८०८ जना पुरुष र ३५ जना महिला आप्रवासी रहेका छन्। उनीहरूको समेर २१ देखि ५३ वर्षसम्मको रहेको बताइएको छ। पक्राउ परेका आप्रवासीहरूमध्ये नेपाली, इन्डोनेसियाली, बंगाली, भारतीय, म्यानमार र पाकिस्तानी रहेका छन्।
हालसम्म कुन देशका कति नागरिक पक्राउ परेका छन् भनेर खुलाइएको छैन। यद्यपि मलेसिया नेपाली श्रमिकहरूका लागि एउटा प्रमुख गन्तव्य भएकाले कैयौं नेपालीहरू पनि रहेको ठानिएको छ।
त्यसरी पक्राउ परेकाहरूमध्ये धेरै जनासँग परिचय खुल्ने आधिकारिक कागजात नभएको, भिसा वा पासका शर्त उल्लंघन गरेको, बसाई अवधि नाघेको, नक्कली वा अमान्य कागजात प्रयोग गरेको आरोप लगाउँदै मलेसियन प्रहरीले व्यापक मात्रामा धरपकड गरिरहेको हो।













