छैठौं वर्षमा हाम्रो यात्राः दीगो विकास रणनीतिमा प्रतिबद्धता

आजबाट हाम्रो यात्रा अझै नयाँ हुन पुगेको छ । आजैका दिन २०७८ साल वैशाख ३१ गते ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ शुरु गरिएको बीमापोष्ट डटकम आजबाट पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । यस सुखद र ऐतिहासिक अवसरमा समस्त पाठकबृन्द !, दर्शक तथा सबै शुभचिन्तकहरूमा हार्दिक आभारसहित मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
नेपालमा दीगो आर्थिक नीतिका लागि सञ्चार क्षेत्रबाट सशक्त हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढेको बीमापोष्टको यात्राका कैयौं लक्ष्यहरू प्राप्त गर्न अझै बाँकी छ । यद्यपि यो छोटो अवधिमा हामीले प्राप्त गरेको सफलता र उपलब्धीहरू तपाईहरू सबैमा साझा गर्न पाउँदा हर्षविभोर गौरवान्वित अनुभूति हुन आउँछ । देशको बीमा, बैंक तथा वित्तीय तथा समग्र आर्थिक क्षेत्रमा सशक्त र प्रभावकारी अनि जनमुखी सञ्चार माध्यमको रूपमा आफ्नो उपस्थिति दर्शाउन पाउँदा बीमापोष्ट डटकम परिवार अत्यन्तै खुशी र गौरव अनुभूति गर्दछौं ।
नेपाली बीमा क्षेत्रमा बीमित, नियामक र बीमा कम्पनीका बीचमा सम्बन्धसेतुको भूमिका निर्वाह गर्दै आइरहेको बीमापोष्ट डटकम बीमा, बैंक–वित्त तथा समग्र आर्थिक क्षेत्रको नीति निर्माणका विषयमा सरकार र जनताका बीचमा नीतिगत बहसदेखि सूचना र समाचार पस्केर जनता र सरकारको साझा माध्यमको रुपमा उभिँदै आएको छ । बीमापोष्टले आम बीमित, बीमाकर्मी, बीमा कम्पनी र नियामक तथा सरकारको बीचमा सूचना सम्प्रेषण गर्ने र आपसमा जोड्ने पुलको भूमिका निर्वाह गर्दै गहन जिम्मेवारी निर्वाह गरिरहँदा हामीले उच्च दायित्वबोधको अनुभूति गरेका छौं । आगामी दिनमा आम नागरिकले गरेको अपेक्षा, हाम्रा आम पाठकहरूको शुभेच्छा, आशा, विश्वास र जनपक्षधरतालाई अझै समृद्ध बनाईने दृढता यस अवसरमा व्यक्त गर्न चाहन्छौं ।
छिन छिनमा मोबाइल र कप्युटरमा स्क्रोल गरेर हेरिदिनुहुने सबै पाठक तथा दर्शक, बीमित तथा बीमा अभिकर्ता, बीमाकर्मी, नेपाल सरकार तथा नियामक निकाय अनि बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाहरू, अन्य व्यापारिक तथा औद्योगिक प्रतिष्ठानहरू जसले बीमापोष्टलाई प्रत्यक्ष, अप्रत्यक्ष, भौतिक, आर्थिक रुपमा सहयोग गर्नु भएको छ सबैमा छैठौं वार्षिकोत्सवको अवसरमा हार्दिक आभार व्यक्त गर्दछौं ।
राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालित बीमापोष्ट डटकम स्थापनाको पाँच वर्षको अवधिमा नेपाल सहित विश्वभरबाट मासिक १५ लाखभन्दा बढी पाठक पुर्याउन सफल हुनु हाम्रो लागि गौरवको विषय हो । पछिल्लो समय हाम्रा पाठकहरुसँगै दर्शकको पनि उल्लेख्य बृद्धि हुँदै गइरहनुले हामीलाई आगामी दिनमा श्रव्यदृष्य प्रचार सामग्रीको उत्पादनका लागि समेत थप उत्साह भरिएको छ ।
अनलाईन सञ्चार माध्यममार्फत देशमा सुशासन, विधिको शासन, दण्डहीनताको अन्त्य र आर्थिक अनुशासनको पक्षमा कलम चलाउन प्रोत्साहन गर्नुहुने, सहयोग गर्नुहुने, हौसला प्रदान गर्नुहुने, प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने, सूचना र समाचारहरूका स्रोतहरू सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । यस अवधिसम्म बीमापोष्टलाई सञ्चालनमा सहज हुने गरी विज्ञापन दिई व्यापार प्रवद्र्धनमार्फत सहयोग गर्नुहुने सबै निकाय तथा कम्पनीहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
धन्यवाद ।
नबराज न्यौपाने
सम्पादक












