बीमा अभिकर्ता : सामाजिक सुरक्षा, आर्थिक अवसर र जोखिम व्यवस्थापनको जीवन्त कडी

पाँचथर फाल्गुनन्द १ का रुद्र बहादुर कामी एक वर्षको अवधीमा दुई पटक दुर्घटनामा परी घाइते भए । बीमा कम्पनीले व्यक्तिगत दुर्घटना लाभ बापतको रकम प्रदान गरेपछि उनको उपचारमा निकै सहज भयो । सामान्य परिवारका रुद्र बहादुरलाई बीमा गराउन धेरै प्रयास गर्नुपरेको अभिकर्ता बिनोद घिमिरे बताउँछन् । दुर्घटना लाभ बापतको रकम प्राप्त गरेपछि घिमिरेलाईअभिकर्ता पेसा निरन्तर गरिरहनु भन्दै रुद्रबहादुले धन्यबाद दिए । १६ वर्षअघिबाट अभिकर्ताको काम गर्दै आएका घिमिरेले सामान्य परिवारका थोरै बीमाड्ढका २ सय बढीको बीमा गराएका छन् । ग्राहकले बीमा कम्पनीभन्दा अभिकर्तालाई नजिक बाट चिनेको हुन्छ । कतिपय ग्राहकले बीमा कम्पनीभन्दा अभिकर्तालाई नै विश्वास गरेर बीमा गर्ने गरेको घिमिरेको भनाई छ । बीमा गराउन गाह्रो भएपनि गराइसकेपछि ग्राहकको साथले बीमा अभिकर्ता सामाजिक पेसा बन्दै गएको घिमिरेको अनुभव छ ।
बीमा अभिकर्ता भनेको बीमा कम्पनी (बीमक) र ग्राहक (बीमित) बीच मध्यस्थकर्ताको रुपमा काम गर्ने इजाजत प्राप्त व्यक्ति हो, जसले कम्पनीको तर्फबाट बीमा प्रवद्र्धन, प्रस्ताव फारम भराउने र बीमालेख बिक्री गरी तोकिएको कमिसन प्राप्त गर्दछन् । उनीहरु तलवी कर्मचारी नभई स्वतन्त्र रुपमा काम गर्ने र बीमा व्यवसायको मेरुदण्ड मानिने प्रतिनिधि हुन् । अहिलेको समयमा मानिसको जीवनविभिन्न जोखिमहरुले घेरिएको हुन्छ । प्राकृतिक विपत्ति, दुर्घटना, रोगव्याधी, आर्थिक अस्थिरता जस्ता समस्याले व्यक्तिको जीवनलाई अनिश्चित बनाउँछन् । यस्ता जोखिमहरुबाट हुने आर्थिक क्षतिलाई न्युनीकरण गर्न बीमा प्रणाली अत्यन्त प्रभावकारी माध्यमका रुपमा विकसित भएको छ । बीमा केवल आर्थिक सुरक्षा दिने साधन मात्र नभई समाजिक स्थिरता कायम गर्ने आधार पनि हो । यस प्रणालीलाई जनस्तरसम्म पु¥याउने मुख्य कडीका रुपमा बीमा अभिकर्ता कार्यरत हुन्छन् ।
बीमा अभिकर्ता पेसामा सक्रियरूपमा लागेकी फिदिमकी दिल कुमारी घिमिरे भन्छिन्, “बीमा अभिकर्ता पेसा एक सामाजिक पेशा हो, म यो पेशामा लाग्नु पुर्व नै एक सामाजिक कार्यकर्ता थिएँ, अहिले पनी समाजसेवामा लागिरहेकी छु, त्यसैले अन्य पेशामा आबद्ध नभई यो पेशा रोजेको हो । मानवीय जीवनमा जोखिमहरू धेरै छन्, तर आम मानिसहरूलाई आफ्नो जीवनको मूल्यभन्दा पनि सम्पत्तिको मुल्यलाई बढी प्राथमिकता दिने गर्छन् । तिनै मानिसहरू बीमा के हो र यो के का लागी गर्ने भन्ने कुरामा नै जानकार छैनन्, ती मानिसहरूलाई बीमाको आवश्यकता बुझाउनका लागि यो पेशामा प्रवेश गरेको घिमिरेको भनाई छ ।
पाँचथर फिदिम ४ का काजिमान श्रेष्ठमा बीमा सम्बन्धी कुनै ज्ञान थिएन । श्रेष्ठलाई अभिकर्ता मोहन कुमार दाहालले बीमाको परिचय, महत्त्व तथा बीमा योजनाबारे बताएपछि श्रीमती ज्ञानमायाँ श्रेष्ठको बीमा गरिदिए । श्रेष्ठ भन्छन्, “बीमा गर्नुपर्छ भन्ने जानकारी कसैले दिएन, मोहन सरले बीमाको बारेमा बताएपछि विश्वास भयो, बीमा गर्नुपर्छ भन्ने लागेर बीमा गरेँ र आफैँ पनि अभिकर्ता बनेर बीमा गराएँ । विगत २२ वर्षदेखि मुख्य पेशा नै अभिकर्ता बनाएका दाहालले आफू र आफ्ना समूह गरेर ७० हजारभन्दा बढीको बीमा गराइसकेका छन् । दाहाल भन्छन्, ‘पहिलेको समयमा बीमा गराउन निकै गाह्रो हुन्थ्यो, मानिसमा चेतनाको कमी थियो, नेटवर्किङ व्यवसायले मानिसहरू तर्सिएका थिए तर अहिले त्यस्तो अवस्था छैन, धेरैले बीमा बुझेकोले बीमा गराउन केही सहज भएको छ । आर्थिक फाइदा मात्र हैन सामाजिक सेवाको हिसाबले काम गरेकोले आत्मसन्तुष्टि भइरहेको दाहालको भनाई छ । आर्थिक अनुशासन हुनुपर्ने, बीमा सम्बन्धी राम्रो ज्ञान हुनुपर्ने, ढाँट्नु नहुने, ग्राहकको नवीकरण तथा दाबी भुक्तानीमा सहयोग गर्नुपर्ने जस्ता गुण अभिकर्तासँग भएमा लामो समयसम्म यस पेशा टिक्न सकिने दाहाल बताउँछन् ।
बीमा अभिकर्ता भनेको बीमा कम्पनी र ग्राहकबीच पुलको काम गर्ने व्यक्ति हो । उनीहरूले बीमाको आवश्यकता र महत्त्वबारे जानकारी प्रदान गर्ने, ग्राहकको आर्थिक अवस्था अनुसार उपयुक्त योजना छनौट गर्न सहयोग गर्ने, बीमा सम्झौता प्रक्रिया पूरा गर्न सहयोग गर्ने, बीमा दाबी प्रक्रियामा सहजीकरण गर्ने, बीमालेख बिक्री गर्ने, ग्राहक र कम्पनी बीच समन्वय गर्ने जस्ता महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्छन् । यसरी हेर्दा बीमा अभिकर्ता केवल व्यवसायिक प्रतिनिधि मात्र नभई समाजमा सुरक्षा र चेतना फैलाउने सामाजिक अभियान्ता पनि हुन् । बीमा अभिकर्ताको भूमिका व्यक्तिगत स्तरमा सीमित नभई सामाजमा व्यापक प्रभाव पार्ने खालको हुन्छ ।
बीमा अभिकर्ताले व्यक्तिहरूलाई भविष्यका जोखिमहरूका लागि तयार बनाउँछन् । दुर्घटना वा विपत्तिको समयमा बीमाले आर्थिक सहयोग प्रदान गरी जीवनलाई सहज बनाउन मद्दत गर्छ । नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनी बीमाबारे पर्याप्त जानकारी छैन । अभिकर्ताले गाउँ शहरमा पुगेर यसको महत्त्व बुझाउने काम गर्छन् । बीमाले आर्थिक संकटलाई कम गरेर परिवार र समाजलाई स्थिर बनाउनुका साथै गरिबी र असमानता घटाउन पनि सहयोग पुयाउँदछ । बीमाले नियमित बचत गर्ने बानी बसाल्छ । यसले दिर्घकालिन आर्थिक योजना बनाउन मद्दत गर्छ ।
आम्दानीको बलियो स्रोत
फिदिमका रविन्द्र खतिवडा र उनकी श्रीमती बीना भट्टराई सक्रीय अभिकर्ता हुन् । २१ वर्ष अघिबाट बीमा अभिकर्ता पेशामा लाग्नु भएका खतिवडा दम्पतीको आम्दानी सनतोषजनक छ । खतिवडा भन्नुहुन्छ, ‘सुरुवातमा फिदिमको बीमालेख जारी गर्न विराटनगर पठाउनु पर्थ्यो, जसले गर्दा बीमाप्रति आफैँलाई विश्वास थिएन, धेरै मेहनत गरेपछि यो अवस्थामा आइपुगेका हौं । धेरै मानिसलाई अभिकर्ता बनाएर आम्दानीको बाटो देखाइदिएको खतिवडाको दाबी छ । सुरुमा साना बीमाङ्कको बीमा गराएकाहरूले अहिले ठूलो बीमाङ्कको बीमालेख ग्राहकले लिने गरेको र आफ्नो काम प्रति सन्तोषजनक भई धेरैले धन्यावाद दिने गरेको खतिवडा दम्पतीको भनाई छ ।
बीमा अभिकर्ता पेशा आम्दानीको बलियो श्रोत हो । नेपालमा बीमा अभिकर्ताको सङ्ख्या लाखौँमा पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब ४ लाख २५ हजार अभिकर्ता छन्, जसमध्ये सक्रिय रूपमा काम गर्ने अभिकर्ताको सङ्ख्या भने करिव १ लाखको हाराहारीमा रहेको पाइन्छ । गत आर्थिक वर्षमा १४ अर्ब २५ करोड कमिसन र इन्सेन्टिभ अभिकर्ताले प्राप्त गरे । जीवन बीमा कम्पनीहरूको व्यवसायमा भएको वृद्धिसँगै अभिकर्ताको कमिसन पनि वृद्धि भएको छ । बीमा नियमावलीको दफा २३ मा बीमा अभिकर्ताले पाउने कमिसन रकमको व्यवस्था गरिएको छ । बीमालेख बिक्री गरेको सुरुको दुई वर्षको बीमाशुल्क मार्फत अभिकर्ताले ६ देखी २५ प्रतिशत सम्म कमिसन प्राप्त गर्छन । त्यसपछि ८ वर्षको अवधी सम्म ५ प्रतिशत कमिसन प्राप्त गर्छन् । निर्जिवन बीमामा बीमाशुल्कको ५ प्रतिशत, लघु बीमा र स्वास्थ्य बीमामा बीमा प्राधिकरणले निर्धारण गरे बमोजिम कमिशन प्राप्त गर्ने बीमा नियमावली २०८१ मा उल्लेख छ । केही कम्पनीहरूले वार्षिक अर्ब भन्दा माथी अभिकर्ताको लागि कमिसन र इन्सेन्टिभमा खर्च गर्छन् ।
दमक ५ झापाका दुर्गा प्रसाद दाहाल २०५३ सालमा अभिकर्ता पेशामा जोडिनुभयो । २०७४ साल सम्म अभिकर्ता बनेर काम गरेपछी उहाँ कम्पनीको कर्मचारीको रूपमा काम गर्न थाल्नुभयो । कम्पनीको उपप्रवन्धक र कोशी प्रदेशको क्षेत्रिय प्रवन्धक सम्म पुगेका दाहल जागिर छोडेर पुन अभिकर्ता पेशामै फर्कनु भएको छ । स्वतन्त्र रूपले राम्रो आम्दानी गर्न सकिने भएकोले अभिकर्ता पेशामा फर्किएको र हाल मसिक दुई लाख बढी आम्दानी हुने गरेको दाहालको भनाई छ । नेपालमा पनी धेरै सफल बीमा अभिकर्ताहरू रहेका छन्, जसले आफ्नो मेहनत र सीपका आधारमा मासिक लाखौँ रूपैंयासम्म आम्दानी गर्ने गरेका छन् । MDRT (Million Dollar Round Table) मा सदस्यता प्राप्त गरेका नेपाली अभिकर्ताहरूले अन्तर्राष्ट्रियस्तरमै आफ्नो क्षमता प्रमाणित गरेका छन् । यस्ता अभिकर्ताले राम्रो आम्दानी गर्नुका साथै हजारौं ग्राहकलाई बीमा सेवामा जोड्ने काम गरेका छन् । उनीहरूको सफलता आम्दानीको माध्यम मात्र नभई समाजमा आर्थिक सुरक्षा र सचेतना फैलाउने कार्यमा समेत महत्त्वपूर्ण योगदान रहेको दाहाल बताउनुहुन्छ ।
अभिकर्ताले पेशाप्रति इमानदार र बफदार भएर काम गर्नाले राम्रो आम्दानी गर्न सकिने बीमा तथा वित्तीय परामर्श सेवा केन्द्र इलामका सञ्चालक अर्जुन पोखेल बताउनुहुन्छ । पोखेल भन्नुहुन्छ, ‘अभिकर्तालाई विषयवस्तुसँग सम्बन्धी राम्रो तालिम सम्बन्धित बीमा कम्पनीले दिनु पर्छ, बीमा सम्बन्धी परिवर्तन भएका ऐन, कानून तथा नियमको अध्ययन गर्नुपर्छ, अभिकर्ताको आवश्यकता हैन बीमितको आवश्यकता हो भन्ने बानिको विकास गर्नुपर्छ, पेशामा लागे पछी सेवाको भाव लिन सकिएमा आफैँ कमाई हुन्छ, दाबी भुक्तानीमा आफैँ सहजीकरण गर्नुपर्छ, बीमितलाई प्रेसरमा पारेर हैन स्वत बीमा गर्ने गरिको वातावरण सिर्जना गर्नुपर्छ ।’ सेवामूलक र आम्दानीको लागी सबैभन्दा राम्रो पेशा नै बीमा अभिकर्ता पेशा भएको पोखेलको भनाई छ ।
सरकारको राजस्वमा बीमा अभिकर्ताको योगदान
बीमा अभिकर्ताले नगदमा प्राप्त गर्ने कमिशन र इन्सेन्टिभबाट १५ प्रतिशतसम्म सरकारलाई कर तिरेको हुन्छ । यो दरले गत आर्थिक वर्षमा २ अर्ब रूपैयाँभन्दा बढी राजस्व प्रत्यक्ष रूपमा अभिकर्ताले सरकारलाई तिरे । उनीहरूले आफ्नो कमिशनबाट व्यक्तिगत आयकर तिर्ने भएकोले अभिकर्ताबाट प्रत्यक्ष रूपमा राजस्व प्राप्त हुन्छ । यसरी बीमा अभिकर्ताले सरकारको राजस्व वृद्धि गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गरेका हुन्छन् । अभिकर्ताले बीमा सेवा विस्तार गरी धेरै मानिसलाई बीमामा आवद्ध गराउँछन्, जसकारण बीमा कम्पनीहरूको आम्दानी बढ्छ । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै सरकारले आयकरको रूपमा बढी राजस्व संकलन गर्न सक्छ ।
बीमा क्षेत्रमा संकलित रकम विभिन्न आर्थिक गतिविधि तथा लगानीमा प्रयोग हुने भएकोले देशको अर्थतन्त्र चलायम हुन्छ । आर्थिक गतिविधि बढेसँगै विभिन्न प्रकारका करहरूबाट सरकारलाई थप राजस्व प्राप्त हुन्छ । यसरी, बीमा अभिकर्ता बीमा सेवा विस्तार गर्ने माध्यम मात्र नभई राष्ट्रको आर्थिक विकास र राजस्व संकलनमा समेत महत्त्वपूर्ण योगदान दिने सामाजिक पेशाकर्मी हुन् ।
नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीको भूमिका
बीमा ऐन २०७९ अनुसार बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाटसर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवम् बीमा व्यवसायको प्रभावकारी रूपमा नियमन गरी बीमितको हक हित संरक्षण गर्नका लागि स्थापना भएको नेपालको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण हो । यसले नेपाल सरकारलाई बीमा सम्बन्धी आवश्यकता अनुसार सल्लाह दिने काम गर्दछ । बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता तथा अन्य बीमा सेवा प्रदायक संस्थाको इजाजत पत्र जारी गर्ने, खारेज गर्ने र नियमन गर्ने कार्य गर्दछ ।
बीमा अभिकर्ताप्रति प्राधिकरणको भूमिका विशेष हुन्छ । बीमा अभिकर्ता बन्नका लागि प्रधिकरणबाट इजाजत लिनु पर्छ । प्राधिकरणले बीमा नियमावली २०८१ मार्फत अभिकर्ताको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा उत्तिर्ण अनिवार्य गरेको छ । त्यसअघि एसएलसीको योग्यताले हुन्थ्यो । आवश्यक कागजपत्र उपलब्ध भएपछि प्राधिकरणले अनलाइन परीक्षा लिन्छ, सो परीक्षा पास गरेपछी मात्र अभिकर्ताले इजाजत प्राप्त गर्छन् । इजाजत प्राप्त नगरी बीमा अभिकर्ता बन्न पाइँदैन ।
बीमा अभिकर्ता जीवन बीमा कम्पनीका मेरूदण्ड हुन् । बीमा व्यवसाय बढाउन अभिकर्ताकै भूमिका हुने भएकोले शिक्षित र दक्ष बन्न अभिकर्ताको शैक्षिक योग्यता बढाएको नेपाल बीमा प्राधिकरणका सुचना अधिकारी पूर्णबहादुर थापाले जानकारी दिनुभयो । थापा भन्नुहुन्छ, ‘अभिकर्ताको मनोवल बढाउन बीमा ऐनभन्दा छुट्टै मासिक इन्सेन्टिभ दिने गरेको, घर कर्जा तथा सवारी साधन कर्जा जस्ता विशेष सुविधा कम्पनीले प्रदान गरेकोले अभिकर्तामा पेशाप्रति उत्प्रेरणा जागेको छ ।”
बीमा अभिकर्ताप्रति नेपाल बीमा पधिकरणको भूमिका नियमन, नियन्त्रण र विकासमा केन्द्रित हुन्छ । प्राधिकरणले अभिकर्तालाई इजाजत प्रदान गर्ने, आवश्यक तालिम तथा योग्यता निर्धारण गर्ने र आचारसंहिता लागु गर्ने काम गर्छ । अभिकर्ताको कार्यसम्पादनको अनुगमन गरी गलत कार्य भएमा कारबाही गर्ने तथा उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी प्राधिकरणको हुन्छ । यसरी बीमा प्राधिकरणले अभिकर्तालाई अनुशासित, दक्ष र बिश्वसनिय बनाउँदै सम्पूर्ण बीमा क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
बीमा कम्पनी र अभिकर्ताबीच घनिष्ट सम्बन्ध हुन्छ । अभिकर्ता कम्पनीको मुख्य प्रतिनिधि भएकोले कम्पनीले अभिकर्ताहरूको विकास, संरक्षण र प्रोत्साहनमा विषेश योगदान दिएको हुन्छ । कम्पनीले अभिकर्तालाई तालिम प्रदान गर्छ । बीमा योजना, बिक्री सिप सिकाएर अभिकर्तालाई सक्षम बनाउँछ । अभिकर्तालाई काम अनुसारको कमिशन, इन्सेन्टिभ उपहार, भ्रमण आदिको व्यवस्था गरेको हुन्छ, जसले अभिकर्तामा उत्प्रेरणाको विकास हुन्छ । कम्पनीले अभिकर्ताको लक्ष्य निर्धारण, मार्गदर्शन, अनुगमन, मूल्याङ्कन तथा सम्बन्ध व्यवस्थापन जस्ता कार्यहरू गर्दछ । बीमा कम्पनीहरूले अभिकर्तालाई आफ्नो प्रमुख प्रतिनिधिका रूपमा हेर्दै उनीहरूको विकास र प्रोत्साहनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । कम्पनीले अभिकर्तालाई आवश्यक तालिम प्रदान गर्ने, कमिशन तथा विभिन्न प्रोत्साहन उपलब्ध गराउने कार्यसम्पादनको अनुगमन गर्ने तथा आवश्यक सामग्री र मार्गदर्शन उपलब्ध गराउने काम गर्छ । यसरी कम्पनी र अभिकर्ता बीचको सहकार्यले बीमा सेवा प्रभावकारी रूपमा विस्तार गर्न मद्दत पुर्याउँछ ।
बीमा अभिकर्ता संगठित बन्दै
बीमा अभिकर्ताहरूको हक हित, अधिकार र पेशागत विकासका लागि वि.सं. २०५५ बाटै पेशागत बीमा अभिकर्ता संघ स्थापना भएको छ । देशभरका अभिकर्ता संघमा आवद्ध छन् । अभिकर्ताको सुविधा तथा अधिकारको विषयमा आवाज उठाउने समस्याको समाधान गर्न पहल गर्ने, देशभरका अभिकर्ताहरूलाई एउटै प्लेटफर्ममा ल्याउने, आपसी सहयोग र सहकार्य बढाउने, तालिम गोष्ठी कार्यक्रम सञ्चालन गर्ने अभिकर्तालाई दक्ष र व्यवसायिक बनाउने, राम्रो सेवा प्रदान गर्न अभिकर्तालाई प्रेरित गर्ने, अनुशासित र जिम्मेवार बनाउन सहयोग गर्ने जस्ता कार्य संघले गर्दै आएको छ ।
बीमा कम्पनीले अभिकर्ता पेशाप्रति मर्यादित बनाउन ऐन नियम अनुसार तालिम प्रदान गर्नुपर्ने र प्राधिकरणले केही नीतिगत सुधार गर्नुपर्ने संघका अध्यक्ष ओम बहादुर खत्रीले बताउनुभयो । बीमा क्षेत्रको समग्र विकासका लागि अभिकर्ताको भूमिकालाई थप प्रभावकारी बनाउन र नीतिगत सुधारका विविध पक्षमा बीमा प्राधिकरणसँग छलफल भइरहेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । संघले अभिकर्ता क्षेत्रका दिर्घकालिन समस्या समाधानका लागि बीमा कम्पनी र प्राधिकरणमा माग गरिरहेको छ । विशेष गरी अभिकर्ताहरूको पेशागत सुरक्षादेखी लिएर नीतिगत अस्पष्टता हटाउने विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने संघका अध्यक्ष खत्रीको भनाई छ । पेशागत अभिकर्ता संघ बीमा अभिकर्ताहरूको साझा संगठन हो, जसले उनीहरूको हक हित संरक्षण, पेशागत विकास तथा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले अभिकर्तालाई अनुशासित, जिम्मेवार र दक्ष बनाउन सहयोग गर्नुका साथै बीमा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउँछ ।
अभिकर्ताका चुनौती
बीमा अभिकर्ता पेशा आकर्षक भए पनि व्यवहारमा धेरै चुनौतीहरू सामना गर्नुपर्छ । नेपालमा धेरै मानिसहरू बीमाको महत्त्व बुझ्दैनन, यसले ग्राहक बनाउन गाह्रो बनाउँछ । केही गलत अनुभव वा हल्लाका कारण मानिसहरू बीमाप्रति शंकालु हुन्छन्, जसले गर्दा अभिकर्ताले विश्वास जित्न धेरै समय लगाउनुपर्छ । सुरुवाती अवस्थामा आम्दानी कम हुन्छ । नियमित तलव नहुने भएकोले कमिशनमा निर्भर हुँदा आर्थिक दबाव हुन्छ । कम्पनीले तोकेको तार्गेट पुरा गर्नुपर्ने भएकोले मानसिक तनाव बढ्न सक्छ । सबै अभिकर्ताले तालिम नपाउँदा ग्राहकलाई राम्रो सेवा दिन कठिन हुन्छ । कतिपयले अभिकर्तालाई बीमा बेच्ने मात्र भनेर हेर्ने गर्छन् जसले पेशाको सम्मानमा असर पर्न सक्छ ।
बीमा अभिकर्ता पेशममा विभिन्न चुनौतीहरू रहेका छन् । जनचेतनाको अभाव, बीमा प्रति अविश्वास कडा प्रतिसपर्धा तथा अनिश्चित आम्दानी जस्ता समस्याले अभिकर्तालाई प्रभावित बनाउँछन् । यसैगरी लक्ष्य पुरा गर्ने दवाब, तालिमको कमी र समय व्यवस्थापनका कठिनाईहरूले पनी उनीहरूको कार्यक्षमतामा असर गर्छ । यद्यपि सही सीप, धैर्य र इमान्दारीका साथ काम गर्न सकेमा यी चुनौतीहरू पार गर्न सकिने फिदिमका अभिकर्ता अनिता बाँस्कोटा बताउनुहुन्छ ।
निष्कर्ष
बीमा अभिकर्ता आधुनिक समाजमा अत्यन्त महत्त्वपूर्ण सामाजिक पेशाकारूपमा स्थापित भएका छन् । उनीहरूले केवल बीमा सेवा बिक्री गर्ने मात्र नभई समाजमा आर्थिक सुरक्षा, जनचेतना र विश्वासको वातावरण निर्माण गर्ने काम गर्छन् । बीमा अभिकर्ता मार्फत धेरै मानिसहरू जोखिम व्यवस्थापन तर्फ सचेत बन्दै गएका छन्, जसले व्यक्तिगत तथा पारिवारिक जीवनलाई सुरक्षित बनाउन मद्दत पुऱ्याएको छ । बीमा अभिकर्ताले बीमा सेवा बिस्तार गरी बीमा कम्पनीहरूको आम्दानी वृद्धी गराउने र त्यसमार्फत सरकारको राजस्व बढाउन पनी सहयोग पुऱ्याउँछन् । सफल अभिकर्ताहरूका उदाहरणले यो पेसामा उच्च सम्भावना रहेको स्पष्ट देखाउँछ ।
यद्यपी यस क्षेत्रमा जनचेतनाको अभाव, अविश्वास, प्रतिस्पर्धा र आम्दानीको अनिश्चितता जस्ता चुनौतीहरू रहेका छन् । प्रभावकारी तालिम, इमान्दारी, पारदर्शी र सही नीतिगत सुधार मार्फत यी समस्याहर समाधान गर्न सकिन्छ । अन्ततः बीमा अभिकर्ता पेसा केवल व्यक्तिगत आम्दानीको माध्यम मात्र नभई सुरक्षित, सचेत र समृद्ध समाज निर्माण गर्ने एक मत्वपूर्ण आधार हो । त्यसैले यस पेसालाई सम्मान गर्दै यसको विकासमा सबै पक्षले सहयोग गर्न आवश्यक देखिन्छ ।












