बीमा अभिकर्ता समुद्रमा माछा मार्ने पेशा जस्तै हो, जति मिहेनत त्यति नै आम्दानीः शर्मिला

१२ जेष्ठ २०८३, मंगलवार १४:४८

काठमाडौं । शर्मिला अर्याल पाण्डे नेशनल लाइफकी चिर्फ बिजनेस म्यानेन्जर हुन् । विगत तीन बर्षदेखि बीमा अभिकर्ता पेशामा सक्रिय भईरहेकी शर्मिलाले घर परिवारको साथ साथै राम्रै आम्दानी गर्ने लक्ष्य सहित यस पेशामा लागिन् ।

छोटो समयमा नै बीमा अभिकर्ताबाट सफलता हासिल गरेकी शर्मिलाको बीमा अभिकर्ताको यात्रा, सर्घष र उनको कार्यशैलीको बारेमा बीमापोष्टले गरेको संवाद :

तपाईं बीमा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?

मेरो जन्म घर पाल्पा पिपलडाँडा हो। म १२ पढेर विवाह भइसकेपछि अध्यननका लागि विदेश गएको थिएँ। बच्चा भइसकेपछि म नेपाल फर्किएँ। म अध्यापनको शिलशिलामा थिएँ अध्यापनमा लाग्दा बच्चा, घरव्यवहार, काम सबै सम्हाल्न गाह्रो भएपछि अध्यापन पेशा छाडेर बच्चा हुर्काउनमा मात्रै ध्यान दिइरहेको थिएँ। यसैक्रममा म्याडमले बीमा व्यवसाय (अभिकर्ता पेशा) को बारेमा बुझाउनु भयो। त्यसबेलासम्म मेरो बच्चाको भने बीमा भइसकेको थियो र उहाँले भने बमोजिम अभिकर्ता पेशाको बारेमा बुझ्दा स्वतन्त्र भएर आफूले चाहेको समयमा काम गर्न सकिने देखेर म यस क्षेत्रमा आकर्षित भएको थिएँ।

बीमा क्षेत्रमा आउन तपाईंलाई कोबाट कसरी प्रेरणा मिल्यो?

म कसैबाट प्रेरणा भएरभन्दा पनि यस सम्बन्धी तालीम लिएको थिएँ। उक्त तालीमको क्रममा त्यहाँका सरहरूले यस क्षेत्रमा कसैको रोकटोक हुँदैन स्वतन्त्र भएर आफूलाई पायक पर्ने समयमा पनि काम गर्न सकिन्छ। अभिकर्ता पेशा एउटा खुला समुद्र जस्तै हो समुन्द्रबाट जति माछा निकाले पनि हुन्छ भन्नुभयो। यसमा विभिन्न स्कीमहरू हुन्छ, घुम्न डुल्न पनि पाइन्छ, कन्भिन्स गर्ने कुरा हो भन्नुभयो। मलाई फेरि नयाँ मान्छेहरूसँग इन्टर्याक्सन गर्न एकदमै मन पर्ने भएर र कसैको बाउन्ड्रीमा बस्नुभन्दा आफूलै नै काम गर्न सक्छु भनेर नै यो पेशामा म एकदमै आकर्षित भएको हुँ।

बीमा क्षेत्रमा प्रवेश गर्नुअघि यसबारेमा कत्तिको जानकारी थियो?

मलाई बीमा क्षेत्रको बारेमा केही पनि जानकारी थिए। त्यही भएर पनि शुरूशुरूमा गाह्रो परेको थियो। मैले दुईतीन दिन त नेटमा बीमाको बारेमा मात्रै रिसर्च गरेर हेर्ने, त्यस सम्बन्धी आफूले आफूलाई बुझाउने भनेरै लागिरहें। नयाँनयाँ हुँदा बीमितसँग कुरा गर्दा पनि तपाईं यो पेशामा आएको कति भयो भनेर सोध्नुहुन्थ्यो अनि मैले भर्खरै आएको हुँ भन्दा उहाँहरूले बीमा गराउनै मान्नुहुन्थेन। त्यही भएर शुरुवातमा परिवारलाई नै कन्भिन्स गरेर बीमा गराउन थालें। कहिलेकाहीं व्यापारीको बीमा गराउँदा आफूलाई उहाँहरूले पनि सानै रकमको बीमा गराउनुहुन्छ होला जस्तो लागेर सानो रकमको बीमा पोलिसीबारे बुझाउथें। त्यसो गर्दा उहाँहरू आफैंले तपाईं त नयाँ हुनुहुदो रहेछ भनेर भन्नुहुन्थ्यो।

तपाईंले काम कुन कम्पनीबाट शुरू गर्नुभएको हो?

मैले यो क्षेत्रमा काम नेपाल लाइफबाट शुरू गरेको हुँ। नेपाल लाइफमा लगभग चार वर्ष काम गरेपछि नेशनल लाइफमा प्रवेश गरेकी हुँ। नेशनल लाइफमा काम गर्न थालेको तीन वर्ष भयो।

पछिल्लो हरेक क्षेत्रमा अनलाई शैलीमा काम गर्ने चलन बढ्दै गएको छ यो परिवेशमा तपाईं कसरी काम गरिरहनु भएको छ?

मैले अहिले व्यवसाय गरिरहेको भनेको मेरै ठाउँ बुटवल बाट नै हो। मेरो श्रीमानको पनि राम्रै चिनारी भएको ठाउँ हो। लायन्स क्लबमा उहाँपनि आवद्ध हुनुहुन्छ म पनि छु। क्लबको माध्यमबाट पनि मलाई धेरै सहयोग भएको छ। मैले यो अनलाइन प्रणाली खासै प्रयोग गरेको थिइन। तर अहिले शायद तीनचार महीना भयो मैले अनलाइन प्लाटफर्म पनि प्रयोग गरिरहेको छु र अनलाइनबाट पनि राम्रैसँग व्यवसाय गर्न सकिने रहेछ भनेर अहिले बुझिरहेको छ। किनकी हामीले बीमितलाई जसरी हुन्छ जहाँबाट हुन्छ बुझाउन चाहिं सक्नुपर्यो। राम्रोसँग बुझाउन सकियो भने जुनसुकै प्लेटफर्मबाट पनि व्यवसाय हुन्छ बुझाउन सकिएन भने कहींकतैबाट पनि व्यवसाय ल्याउन मुश्किल छ।

अनलाइनबाट काम गर्दा यसका सकारात्मक र नकारात्मक पक्ष केके छन्?

यसमा धेरै जनाले यो राम्रो होइन, ठग्ने र लुट्ने धन्दा हो, दलाली काम हो। बीमा गर्नुहुँदैन भनेर धेरैले धारणा राख्नुहुन्छ त्यो धारणा आफूले पचाउन सक्नुपर्छ। म चाहिं त्यस्तो भन्ने मान्छेसँग एग्रेशन भन्दा पनि उहाँहरूलाई बुझाउने नै प्रयास गर्छु। बीमा गर्नैपर्छ भन्ने पनि छैन बीमा सम्बन्धी नबुझिकनै नकारात्मक धारणा नराख्दिएमात्रै हुन्थ्यो। बीमाप्रति नकारात्मक धारणा नभएमा आज नभए पनि कुनै न कुनै दिन कुनै न कुनै कम्पनीमा उहाँहरूले पनि बीमा गराउनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। उहाँहरूले बुझेर भन्दा पनि नबुझेर यस्तो–यस्तो भयो अरे भन्ने हल्लाको पछि लागेर त्यस्तो सोच्नुभएको हो। त्यस्तो मान्छेहरूले बीमा नगराए पनि एक चोटी मेरो धारणा सुनिदिए हुन्थ्यो जस्तो लाग्छ।

तपाईंले कस्तो खालको बीमा पोलिसी बढी मात्रामा बिक्री गरिरहनु भएको छ?

हाम्रो नेशनल लाइफ इन्स्योरेन्सको अमृत वर्ष प्लान भन्ने पोलिसी छ। यो एकदमै धेरैले रुचाउनुहुन्छ र मैले सबैभन्दा बढी बेचेको बीमा पोलिसी पनि यही नै हो। यसमा खासगरी विदेशमा बस्ने नागरिकहरूको अत्यधिक रुची रहेको छ।

कुन उमेर समूहले बढी मात्रामा पोलिसी लिएका छन्?

मैले बीमा गराएकोमा धेरैजसो ४० देखि ५० वर्षभित्रको हुनुहुन्छ। किनभने अहिलेका पुस्तालाई लगानी गर्न धेरै ठाउँ थाहा छ। अहिलेका पुस्ताहरूले एसएसआर, एसआईपी, शेयर मार्केट जस्ता क्षेत्रहरूमा लगानी गर्नुहुन्छ।

आम सर्वसाधारणले बीमा बारेमा कत्तिको बुझेको पाउनुभएको छ?

मेरो अनुभवमा २० प्रतिशतले बीमा बारेमा राम्रोसँग बुझेको र सकारात्मक धारणा रहेको पाएको छु भने करिब ८० प्रतिशतमा बीमा बारे नकारात्मक धारणा रहेको पाएको छु। उहाँहरूले सबै कम्पनीलाई एकै रूपमा हेरेर इन्स्योरेन्स भन्ने बित्तिकै नराम्रो हो भनेर सोच्नुहुन्छ। कुनै एउटा कम्पनी वा एकजना अभिकर्ताले नराम्रो गरेको देख्दा सबै कम्पनी र सबै अभिकर्तालाई नराम्रो सोच्ने गर्नुहुन्छ। जस्तै म एउटा अभिकर्ता हुँ मैले कुनै ग्राहकलाई मिसलिड गरें भने त्यो म आवद्ध कम्पनीले नै मिसलिड गरेको त भन्न मिलेन नि! अनि पहिले पहिले कतिपय अभिकर्ताहरूले बीमा गराएपछि ५ वर्ष, १० वर्ष २० वर्षपछि डबल बोनस आउँछ भनेर बीमा गराउनु भएको रहेछ यसले पनि समाजमा भ्रम फैलिएको छ। अचेल सबैको हातहातमा स्मार्ट फोन हुन्छ बीमाबाट आउने बोनस आफैंले हिसाब गरेर निकाल्न सकिन्छ। यसरी डबल बोनस आउँछ भनेर भन्नै मिल्दैन अभिकर्ताले त्यो एकदमै गलत काम हो।

दाबी भुक्तानी दिंदाको कुनै अविस्मरणीय क्षण छ?

मैले लास्ट टाइम २८ वर्षीय एकजना व्यक्तिको बीमा गराएको थिएँ। बीमा गराएको तीन महीनापछि नै उहाँको मृत्यु भयो। उहाँले जम्मा ५ लाख रुपैयाँको पोलिसी किन्नुभएको थियो। उहाँलाई बीमाको बारेमा राम्रै ज्ञान पनि थियो र व्यक्तिगत कारणले गर्दा ठूलो रकमको बीमा गराउनु भएन। मैले चाहिं ठूलै रकमको बीमा गराउन आग्रह गरेको थिएँ तर उहाँले त्यो मान्नुभएन र मेरो मन राख्दिनकै लागि भए पनि सानो बीमा गराउनु भयो। जब उहाँको मृत्यु भएको खबर सुनें त्यो शुरूमा त मलाई पत्याउनै गाह्रो भएको थियो। जब उहाँको १३ दिने क्रियाकर्म सबै सकियो पनि उहाँको परिवार कम्पनीको सम्पर्कमा आउनुभयो। फेरि उहाँको आम्दानी गर्ने मान्छै अरु कोही पनि रहेनछ। त्यसको लगभग एकदुई महीना पछि सबै कागजात र प्रक्रिया पूरा गरेर उहाँको परिवारले मृत्यु दाबी भुक्तानी पाउनुभयो। त्यो क्षणमा मलाई लाग्यो कि जीवन सबैको अनिश्चित छ त्यसैले चाहे करोडौंको होस् चाहे लाखौंको होस् वा हजारौंको प्रत्येक नेपालीले बीमा चाहिं अनिवार्य गराउनै पर्छ। कतिजनाले भन्ने गर्नुहुन्छ मरेपछि मात्रै पाइने पैसा के काम? यो गलत बुझाई हो। बाँचुन्जेल त आफ्नो परिवार आफैंले खुसीसाथ हुर्काउन सकिन्छ तर आफूलाई केही भइहालेमा परिवारको बिचल्ली हुन्छ त्यसको लागि भएपनि बीमा चाहिन्छ। फेरि आफूलाई केही भएन भने त बीमा परिपक्व भएपछि एकमु्ष्ट रकम आउने कुरा त छँदै छ।

तपाईंको कुरा मात्रै नसुनेर आफैंले क्रस चेक गर्ने खालका बीमितहरू पनि छन्?

यसरी क्रस चेक गरेर मात्रै विश्वास गर्ने बीमितहरू पनि धेरै जना भएको पाएको छु। एकदुई हप्ता अघि मात्रै मैले एकजना बीमितलाई पोलिसीको बारेमा पठाएको जानकारीहरू उहाँले च्याटजीपीटीमा गएर त्यसबारेमा सोध्नुभएछ। वैदेशिक रोजगारीमा गएकाहरूले पनि पैसा त कमाउनु नै भएको छ तर कहाँ लगानी गर्ने थाहा हुदैन। एकठाउँमा मात्रै लगानी गर्न हुँदैन केही रकम घर जग्गामा, केही रकम शेयर मार्केटमा, केही रकम इन्स्योरेन्समा लगानी गरेर ब्यालेन्स कायम गर्नुपर्छ तर इन्स्योरेन्समा चाहिं लगानी गर्नैपर्छ।

बीमा हुने खानेका लागि बढी महत्वपूर्ण छ कि हुँदा खानेका लागि?

मैले यो काम गरेको ८ वर्षको दौरानमा मैले १ लाख रुपैयाँदेखि तीन करोड रुपैयाँसम्मको बीमा गराएको छु। मलाई लाग्छ पैसा हुनेका लागि भन्दा पनि बढी पैसा नहुने निम्न वर्गका लागि बीमा अझ बढी महत्वपूर्ण छ। खेतीकिसानी गर्ने, अटो, रिक्सा आदि चलाउने, मदजूर गर्ने आदिका लागि बीमा एकदमै महत्वपूर्ण छ। किनकि व्यवसाय गर्नेको त फाइनान्सियल ब्याकअप हुन्छ तर गरिब र किसानको त्यस्तो ब्याकअप हुँदैन कमाएर खुवाउनेलाई केही भइहालेमा सिंगो परिवार नै आर्थिक संटकमा डुब्छ।

तपाईंले बेच्नुभएको पोलिसीमध्ये न्यून र अधिकतम प्रिमियम कति छ?

मैले बेचेको पोलिसीमा सबैभन्दा न्यून प्रिमियम १२ हजार रुपैयाँ छ भने सबैभन्दा अधिकतम २६ लाख रुपैयाँ प्रतिवर्षको छ।

अभिकर्ता पेशालाई सेवाको रूपमा लिनुहुन्छ कि कामको रूपमा?

यो पेशा सेवा र कर्म दुवै हो। म यसै पेशामा स्वतन्त्र रूपले काम गरेर आर्थिक रूपले स्वतन्त्र जीवन बाँचिरहेको पनि छु र आम नागरिकको बीमा गराएर उहाँको जोमिख बहन गरी परिवारमाथि पर्ने संक्ने अकल्पनीय आर्थिक संकट टार्ने सेवा पनि गरिरहेको छु। खर्च भएर जाने पैसालाई भोलिको लागि बचत गर्न लगाउनुलाई म सेवाको रूपमा हेर्छु।

बीमा अभिकर्ता पेशामा लागेपछि तपाईंले आफूमा के परिवर्तन पाउनुभएको छ?

आर्थिक पाटो त छँदैछ। फाइनान्सियल्ली ग्रोथ हुनु गूड पोइन्ट हो यसका साथै यो क्षेत्रमा आएपछि ममा धेरै पत्रपत्रिका र समाचारहरू पढ्ने बानी बस्यो। देशभर के कहाँ केकस्तो घट्नाहरू भइरहेका छन्, कुन कम्पनीहरूले केकस्तो प्रडक्ट उत्पादन गरिरहेका छन् आदि बुझनलाई। समयसमयमा मैले सामाजिक क्षेत्रमा आर्थिक सहयोग पनि गरेको छु। यस पेशामा लागेर घरदैलोमा गइरहँदा समाजका विभिन्न खालका मानिसहरूसँग कुरा हुन्छ यसक्रममा धेरै जना वौद्धिक व्यक्तित्वसँग पनि कुराकानी गर्ने अवसर पाइन्छ जसबाट आफूलाई थाहा नभएको धेरै कुराहरू सिक्ने अवसर पनि मिलेको छ। म त अझैं लर्निङ फेजमै छु।

बीमा क्षेत्रको लोकप्रिय एमडीआरटी, सीओटी, टीओटी प्लेटफर्म छ यसमा तपाईंले कुनै चरण पार गर्नुभएको छ कि छैन?

म अहिले सीओटीमा छु। यसमा आवद्ध भएर म अन्तर्राष्ट्रिय कार्यक्रममा पनि सहभागी भएको छु। पछिल्लो समय म श्रीलंकाको कार्यक्रममा सहभागी भएको छु। यसबाहेक अन्य देशमा भएको कार्यक्रममा म व्यक्तिगत कारणले गर्दा जान सकिनँ तर नेपालभित्र हुने हरेक कार्यक्रममा सहभागी भएको छु। यसको लागि म कम्पनीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।

अभिकर्ता पेशामा लागेर तपाईंले कस्तो आम्दानी गरिरहनु भएको छ?

मैले माथि भने जस्तै बीमा पेशा भनेको समुद्रमा माछा मार्ने पेशा जस्तै हो। यसमा जस्ले जति मिहेनतले काम गर्न सक्यो उस्ले उती नै धेरै आम्दानी गर्छ। मैले मासिक ५ देखि ६ लाखसम्म पारिश्रमिक पाएको छु।

नयाँ अभिकर्तालाई यस पेशाको बारेमा के भन्न चाहनुहुन्छ?

यस क्षेत्रमा सम्भावना ठूलो छ। नयाँ आउनेले आफैंले कम्पनीको बारेमा आवश्यक रिसर्च गरेर र बीमाको बारेमा राम्रोसँग बुझेर आउनुभयो भने यस क्षेत्रमा एकदमै राम्रो भविष्य छ। यहाँ समयअनुसार आफूलाई अनुकूल बनाएर काम गर्न सक्नुपर्छ। आम्दानी भनेको त मिहेनतको आधारमा हुने हो।

सरकार वा नियामकले के गर्दिओस् भन्ने अपेक्षा गर्नुहन्छ?

सरकारले न्यून आय आम्दानी भएका गरिब विपन्न परिवारको अनिवार्य बीमा गरिने गरी कुनै योजना वा कार्यक्रम ल्याइदिओस् भन्ने चाहन्छु। किनकी बचत गरिएन भने त जति कमाए पनि त्यो खर्च नै भएर जाने हो बचत गर्ने बानी बसालियो भने फजूल खर्चमा आफैं कटौती हुन्छ। बचत गर्न सकियो भने पछि एकमुष्ट रकम निकालेर कुनै नयाँ पेशा, व्यवसाय पनि थालनी गर्न सकिन्छ र त्यसबीचमा बीमितलाई केही भइहालेमा उहाँको आश्रित परिवारले छाक टार्नै धौधौ मान्नु पर्दैन।

बीमा प्राधिकरणले नै अनिवार्य रूपमा जनचेतनामूलक कार्यक्रमहरू गरेर बीमाको दायरालाई फराकिलो बनाउनु पर्छ। ठूलै रकमको बीमा गर्नुपर्छ भन्ने छैन ५० हजार रुपैयाँको पनि बीमा गर्न सकिन्छ। सबै नागरिकले बीमा गरेमा सरकारको राजस्वमा पनि वृद्धि हुने नै हो।

बीमा प्राधिरकरण र अभिकर्ताबीच कत्तिको दूरी छ?

हामीले प्रत्येक वर्ष पेमेन्ट गरिरहेका हुन्छौं तर त्यो मार्फत बीमा प्राधिरकणले कुनै कार्यक्रम सञ्चालन गरेर हामीलाई सहभागी गराएको चाहिं अहिलेसम्म छैन। उहाँहरूले नेपालभरको अभिकर्तालाई क्याटेगोरीमा छुट्याएर तालीमहरू दिए हुन्थ्यो जस्तो लाग्छ। किनकी मलाई उहाँहरूले केही सिकाउनुभयो भने मैले त्यही कुरा आम बीमितलाई र नयाँ अभिकर्ताहरूलाई पनि सिकाउन सक्छु जस्तो लाग्छ।

अन्त्यमा, आम बीमितलाई के भन्न चाहनुहुन्छ?

बीमा भनेको आर्थिक सुरक्षा मात्रै नभएर भरोसा पनि हो। आज तपाईंले बीमा गर्नुभयो भने भोलि मलाई केही भइहालेमा बीमा छ है भनेर ढुक्क पनि हुन सक्नुहुन्छ। फेरि तपाईंले बीमा गरेर आज प्रिमियम तिरेपछि एक वर्षपछि प्रिमियम तिर्ने दिन आउँदैछ भनेर दिमागमा बस्छ र बचत गर्ने बानीको पनि विकास हुँदै जान्छ। त्यसकारण बीमालाई इग्नोर नगरौं सेभिङको यो पाटोलाई अनिवार्य रोजौं भन्न चाहन्छु।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*