खाद्य विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध २८ लाख २० हजार ३७५ रुपैयाँ घुस रकम लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलस्थित उद्योग अनुमति नवीकरण शाखामा कार्यरत अधिकारीले चीनको सीमा क्षेत्रमा रोकिएको सामान आयातका लागि स्वीकृति दिने प्रयोजनमा सेवाग्राहीसँग ह्वाट्सएपमार्फत कुराकानी गरी घुस रकम माग गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा अधिकारीले आफ्नो पद तथा ओहदाको कामको सिलसिलामा अन्य प्रतिवादी बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठसँग मिलेमतो तथा योजनामा कम्पनी, उद्योग तथा भन्सार एजेन्टसँग सम्बन्धित व्यक्तिहरूलाई खाद्य आयात अनुमति लगायतका सेवा सहजीकरण गरिदिने भन्दै घुस रकम माग गरेको आयोगको दाबी छ।
आयोगका अनुसार घुस रकम संकलन तथा प्राप्तिका लागि प्रतिवादीहरूले विभिन्न बैंक खाताका विवरण तथा क्यूआरसमेत आदानप्रदान गरेका थिए। अनुसन्धानबाट अधिकारीको नेपाल बैंक खातामा २५ हजार रुपैयाँ र प्रभु बैंक खातामा १ लाख १४ हजार रुपैयाँ जम्मा भएको पाइएको छ।
त्यस्तै, बसन्त कुमार बस्याल क्षेत्रीको माछापुच्छ्रे बैंक खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको ग्लोबल आईएमई बैंक खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ तथा सुरेश चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा भएको आयोगले जनाएको छ।
यी रकम जोड्दा जम्मा २८ लाख २० हजार ३७५ रुपैयाँ घुस/रिसवत रकम भएको आयोगको दाबी छ।
आयोगले अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २८ लाख २० हजार ३७५ रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।
त्यसैगरी, बसन्त कुमार बस्याल क्षेत्रीविरुद्ध ८ लाख ९४ हजार ५०० रुपैयाँ, सुरेश चौधरीविरुद्ध २ लाख ६९ हजार रुपैयाँ र रश्मिता श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार ३७५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मतियारको कसुरमा मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार बस्याल क्षेत्री, चौधरी र श्रेष्ठले अधिकारीबाट भएको भनिएको घुससम्बन्धी कसुरमा गैरकानुनी लाभ लिने प्रकृतिको मतियारका रूपमा भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ।











