बाह्य दबाब र अनिश्चितताबीच आर्थिक वृद्धिदर ३.८५% मा सीमित, यस्तो छ २०८२/८३ को आर्थिक सर्वेक्षण

काठमाडौँ । विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, व्यापारिक अवरोध र मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण सन् २०२६ मा विश्व आर्थिक विस्तार ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपणबीच नेपालले पनि मध्यम आर्थिक वृद्धिदरको बाटो समातेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै बाह्य दबाबबीच नेपालको अर्थतन्त्र स्थिर तर सुस्त गतिमा अघि बढिरहेको चित्र प्रस्तुत गरेका छन्।
अर्थमन्त्री वाग्लेका अनुसार अन्तर्राष्ट्रिय आर्थिक वातावरण अझै चुनौतीपूर्ण बन्दै गएको अवस्थामा उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि रहने जोखिम कायम छ। यद्यपि, नेपालभित्रको मूल्य स्थिति हालका महिनामा तुलनात्मक रूपमा नियन्त्रणमा देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षको ४.४३ प्रतिशत वृद्धिदरभन्दा कम हो। यो गिरावटले बाह्य दबाब र आन्तरिक संरचनागत चुनौती दुवैको प्रभाव देखाएको विश्लेषण गरिएको छ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेश र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने अनुमान गरिएको छ कुल गार्हस्थ्य उत्पादनको संरचनामा पनि अर्थतन्त्रको स्वरूप क्रमशः सेवा–केन्द्रित बन्दै गएको देखिन्छ। कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २४.० प्रतिशत र ७६.० प्रतिशत रहने प्रक्षेपण गरिएको छ। चालु आर्थिक वर्षमा प्राथमिक क्षेत्र २४.४६ प्रतिशत, द्वितीयक क्षेत्र १३.७३ प्रतिशत र सेवा क्षेत्र ६१.८१ प्रतिशत रहने अनुमानले सेवा क्षेत्रको वर्चस्व थप बलियो भएको देखाउँछ।
वृद्धिदरको क्षेत्रगत विश्लेषणमा कृषि क्षेत्र मात्र १.५८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्र ४.५४ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ। गत आर्थिक वर्षमा कृषि क्षेत्र ३.०५ प्रतिशत र गैरकृषि क्षेत्र ४.१२ प्रतिशतले बढेको थियो, जसले कृषि क्षेत्रको गति सुस्तिएको देखाउँछ।
कुल उत्पादनको आकार भने बढ्दै गएको छ। चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन रु. ६६ खर्ब ९ करोड पुग्ने अनुमान गरिएको छ।
प्रदेशगत योगदानमा ठूलो असमानता देखिन्छ। बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७ प्रतिशत रहने अनुमान गरिएको छ भने कर्णाली प्रदेशको योगदान सबैभन्दा न्यून ४.२ प्रतिशत रहने प्रक्षेपणले आर्थिक केन्द्रिकरणको अवस्था झल्काउँछ।
उपभोग संरचना नेपालको अर्थतन्त्रको अर्को प्रमुख विशेषता बनेको छ। कुल गार्हस्थ्य उत्पादनमा उपभोगको हिस्सा अत्यन्तै उच्च ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ। यसमध्ये निजी उपभोग ९१.२६ प्रतिशत, सरकारी उपभोग ६.६२ प्रतिशत र गैरसरकारी संस्थागत उपभोग २.१२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
प्रतिव्यक्ति आय सूचकहरूमा सुधार देखिएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ अमेरिकी डलर, प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २,०४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
प्रदेशगत असमानता प्रतिव्यक्ति आयमा पनि स्पष्ट देखिन्छ। बागमती प्रदेशमा सबैभन्दा बढी २,६४४ अमेरिकी डलर प्रतिव्यक्ति आय रहने अनुमान छ भने मधेश प्रदेशमा सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
सार्वजनिक वित्तीय सूचकहरू मिश्रित अवस्थामा छन्। चालु आर्थिक वर्षको फागुनसम्म संघीय खर्च १०.४ प्रतिशतले वृद्धि भएको छ भने राजस्व ३.२ प्रतिशतले मात्र बढेको छ। यस अवधिमा संघीय सरकारको वित्त सन्तुलन रु. ५८ अर्ब १ करोड र प्राथमिक सन्तुलन रु. ९ अर्ब ३९ करोड घाटामा रहेको उल्लेख छ।
आर्थिक वर्ष २०८१/८२ मा संघीय इकाइहरूको एकीकृत राजस्व रु. १२ खर्ब ८१ अर्ब ७० करोड पुगेको छ। कुल राजस्वमध्ये संघ सरकारको हिस्सा ९२.१ प्रतिशत र प्रदेश तथा स्थानीय तहको हिस्सा ७.९ प्रतिशत रहेको छ।
सोही अवधिमा एकीकृत सार्वजनिक खर्च रु. १७ खर्ब ७५ अर्ब ४७ करोड पुगेको छ। कुल खर्चमा चालु खर्च ५३.२ प्रतिशत, पुँजीगत खर्च २८.० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १८.८ प्रतिशत रहेको छ।
सार्वजनिक ऋणको भार पनि बढ्दो छ। २०८२ फागुनसम्म कुल सार्वजनिक ऋण रु. २८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ, जसमा आन्तरिक ऋण ४६.८ प्रतिशत र बाह्य ऋण ५३.२ प्रतिशत रहेको छ। कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा ऋण ४३.६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४३.२ प्रतिशत थियो।
राजस्व हस्तान्तरणमा भने सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा तीन तहका सरकारबीच अनुदान हस्तान्तरण ३.७ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ७३ अर्ब ९८ करोड पुगेको छ।
सार्वजनिक संस्थानहरूको अवस्थाले मिश्रित चित्र देखाएको छ। ४५ संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा र २ बन्द अवस्थामा रहेका छन्। अघिल्लो वर्ष २८ नाफामा, १५ नोक्सानीमा र २ बन्द अवस्थामा थिए। सरकारी लगानीतर्फ २०८२ असारसम्म शेयर लगानी रु. ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी रु. ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल रु. ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ।
मुद्रास्फीति भने उल्लेखनीय रूपमा नियन्त्रणमा आएको छ। चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ४.७२ प्रतिशत थियो। यसले मूल्य स्थिरता कायम हुँदै गएको संकेत गर्छ।
वित्तीय पहुँच विस्तार तीव्र गतिमा बढिरहेको छ। २०८२ फागुनसम्म बैंक तथा वित्तीय संस्थामा ६ करोड २० लाख ६० हजार २२ निक्षेप खाता पुगेका छन् भने कर्जा खाता २० लाख ४० हजार १४८ पुगेका छन्। मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेका छन्।












