भुक्तानी सेवा प्रदायकमा राष्ट्र बैंकको कडाइः स्वामित्व र व्यवस्थापनमाथि कडा निगरानी, के छन् नयाँ ब्यवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त (बैंक तथा वित्तीय संस्था बाहेक) संस्थाका लागि जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन तथा थप गरेको छ । भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गर्दै राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले संशोधित व्यवस्था लागू गरेको हो ।
संशोधित व्यवस्थाअनुसार कुनै संस्थाको सञ्चालन, व्यवस्थापन वा कामकारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने, सहभागी हुने वा वास्तविक धनी तथा हिताधिकारीका रूपमा रहने व्यक्तिको वित्तीय गैरकानुनी आर्जन वा प्रत्यक्ष तथा अप्रत्यक्ष आपराधिक संलग्नतासम्बन्धी विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अब कुनै व्यक्तिले संस्थाको चुक्ता पुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजी लगानी तथा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद तथा तहमा नियुक्ति वा मनोनयन हुँदा तथा ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा सम्बन्धित संस्थाले आवश्यक विवरणसहित नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा जानकारी गराउनुपर्नेछ ।
यसका लागि सम्बन्धित व्यवसायसँग सम्बन्धित प्रचलित कानुनबमोजिमका मापदण्ड पालना गरेको स्वघोषणा, सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीसम्बन्धी विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए वा नभएको घोषणा तथा संलग्न भएको भए त्यसको विस्तृत विवरण र वर्तमान अवस्थासमेत खुलाउनुपर्नेछ ।
संशोधित निर्देशनअनुसार कुनै प्रकारको मुद्दा, मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधान प्रक्रिया वा न्यायिक तथा प्रशासनिक कारबाहीको प्रक्रियामा रहेको जानकारी भए त्यसको विवरण पनि पेस गर्नुपर्नेछ । साथै अदालत वा अधिकारप्राप्त निकायको फैसला वा आदेशबमोजिम तिर्नुपर्ने राजस्व तथा सरकारी बाँकी बक्यौता रहे वा नरहेको विवरणसमेत अनिवार्य गरिएको छ ।
यसैगरी नेपाल वा विदेशमा कर्जासम्बन्धी कालोसूचीमा परे वा नपरेको विवरण, नेपाल तथा विदेशमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको जानकारी पनि खुलाउनुपर्नेछ । सम्बन्धित व्यक्ति नेपाली नागरिक भए नेपालबाहिर कुनै सम्पत्ति रहेको वा नरहेको, अथवा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भएको वा नभएको घोषणासमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशनले सम्बन्धित व्यक्तिको विगतमा संलग्न कार्य, आबद्ध संस्था, प्राप्त जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताका उदाहरणलगायत सम्बन्धित क्षेत्रको कार्य अनुभव खुल्ने विवरणसमेत माग गरेको छ । साथै वित्तीय आचरण पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले यो मापदण्ड लागू हुनुअघि नै संस्थामा कायम रहेका व्यक्तिका हकमा समेत उक्त सबै विवरण संकलन गरी भुक्तानी प्रणाली विभागमा पेस गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ ।
हेर्नुहोस् पूर्णपाठ:-












