सुरक्षित भनिएको म्युचुअल फण्डमै झट्का, डुब्दै लगानीकर्ताको पुँजी

२४ जेष्ठ २०८३, आईतवार १४:१३

काठमाडौँ । आकर्षक लगानीको विकल्पका रूपमा व्यापक चर्चा कमाएको म्युचुअल फण्ड क्षेत्रमा अहिले निरन्तर गिरावट र अनिश्चितताको छाया परेको छ । सुरक्षित, व्यवस्थित र पेशागत रूपमा सञ्चालन हुने अपेक्षासहित स–साना बचतलाई एकीकृत गरेर दीर्घकालीन प्रतिफल दिने माध्यमका रूपमा हेरिँदै आएको उक्त क्षेत्र अहिले अपेक्षित नतिजा दिन नसक्दा आम लगानीकर्ताको लगानी डुब्दै गएको देखिएको हो ।

नेपालको पुँजी बजार विस्तारसँगै म्युचुअल फण्डमा लगानी गर्नेको संख्या पनि उल्लेख्य रूपमा बढेको थियो । बैंक तथा वित्तीय संस्थाहरूको सहायक कम्पनीमार्फत सञ्चालनमा आएका यस्ता फण्डलाई प्रारम्भिक चरणमा निकै सुरक्षित र स्थिर प्रतिफल दिने माध्यमका रूपमा प्रचार गरिएको थियो । तर समयक्रमसँगै शेयर बजारको उतार–चढाव, समग्र आर्थिक सुस्तता र लगानी वातावरणमा देखिएको अस्थिरताले म्युचुअल फण्डको प्रदर्शनमा प्रत्यक्ष असर पारेको छ ।

बजारमा सूचीकृत अधिकांश म्युचुअल फण्डको बजार मूल्य अहिले अंकित मूल्यभन्दा तल झरेको छ । कतिपय फण्डहरूले विगतमा नियमित रूपमा वितरण गर्दै आएको नगद लाभांशसमेत रोक्नुपर्ने अवस्था आएको छ । यसले लगानीकर्तामा थप निराशा सिर्जना गरेको छ । सुरुमा बैंकको मुद्दती निक्षेपजस्तै निश्चित र सुरक्षित प्रतिफल पाइने अपेक्षासहित प्रवेश गरेका धेरै साना लगानीकर्ता अहिले आफूलाई गलत मूल्यांकनमा लगानी गरेको अनुभूति गर्न थालेका छन् ।

म्युचुअल फण्डको मूल संरचना सैद्धान्तिक रूपमा सशक्त मानिन्छ । साना लगानीकर्ताबाट संकलित पुँजीलाई पेशागत फण्ड म्यानेजरहरूले विभिन्न कम्पनीका शेयर, ऋणपत्र, सरकारी बण्ड, आईपीओ तथा अन्य वित्तीय उपकरणमा विविधिकरण गरेर लगानी गर्छन् । यसले जोखिम कम गर्दै स्थिर प्रतिफल दिने लक्ष्य राख्छ । तर व्यवहारमा भने पूँजी बजारको उतार–चढावसँगै फण्डको सम्पत्ति मूल्य घट्ने, लगानीको मूल्यांकन कमजोर हुने र प्रतिफलमा प्रत्यक्ष दबाब पर्ने समस्या देखिँदै आएको छ ।

पछिल्ला केही वर्षयता नेपालको शेयर बजार अपेक्षाकृत रूपमा सुस्त गतिमा चलिरहेको छ । राजनीतिक हलचल, आर्थिक वृद्धिदरमा देखिएको दबाब, बैंकिङ क्षेत्रमा तरलताको उतार–चढाव तथा लगानीकर्ताको मनोविज्ञानमा आएको परिवर्तनले समग्र बजारलाई प्रभाव पारेको छ । यही अवस्थाको प्रत्यक्ष असर म्युचुअल फण्डहरूको आम्दानी र नाफा क्षमतामा परेको विश्लेषण गरिएको छ ।

फण्डले नाफा आर्जन गरेपछि मात्र लगानीकर्तालाई प्रतिफल वितरण गर्न सक्ने भएकाले बजार घाटामा जाँदा वा नाफा घट्दा लाभांश वितरण रोक्नुपर्ने बाध्यता आउँछ । यही अनिश्चितताले म्युचुअल फण्डलाई निश्चित प्रतिफल दिने साधन ठानेर लगानी गर्नेहरूमा ठूलो भ्रम सिर्जना गरेको देखिन्छ । म्युचुअल फण्ड कुनै पनि अवस्थामा बैंकको मुद्दती निक्षेपको विकल्प होइन । यो पूर्ण रूपमा बजारमा आधारित लगानी साधन हो, जसको प्रतिफल पुँजी बजारको गति र कम्पनीहरूको प्रदर्शनमा निर्भर रहन्छ । बजार बढ्दा लाभ हुने र बजार घट्दा घाटा हुने स्वभाविक संरचना भएकाले यसलाई दीर्घकालीन दृष्टिकोणबाट बुझ्न आवश्यक हुन्छ । तर नेपालमा धेरै लगानीकर्ताले यसलाई छोटो अवधिमा उच्च प्रतिफल दिने माध्यमका रूपमा बुझ्दा असन्तुलन देखिएको हो ।

यस्तै, म्युचुअल फण्डबीच पनि ठूलो भिन्नता हुने गर्छ । सबै फण्ड समान प्रकृतिका हुँदैनन् । कुनै फण्डले आक्रामक रूपमा शेयर बजारमा बढी लगानी गर्छन् भने कुनैले ऋणपत्र र सुरक्षित उपकरणमा बढी ध्यान दिन्छन् । फण्डको पोर्टफोलियो संरचना, व्यवस्थापन शुल्क, खर्च अनुपात, न्याभको दीर्घकालीन प्रवृत्ति र जोखिम व्यवस्थापनको शैलीले प्रतिफलमा ठूलो फरक पार्छ । तर धेरै लगानीकर्ताले यी प्राविधिक पक्ष अध्ययन नगरी केवल नाम, प्रचार वा विगतको नतिजाका आधारमा लगानी गर्ने प्रवृत्ति देखाउँदा पछि निराशा बढ्ने गरेको छ ।

२० फण्डको नाफा ऋणात्मक, ७० प्रतिशतले घट्यो मुनाफा

हाल सञ्चालनमा रहेका ५७ म्युचुअल फण्डमध्ये चालु आर्थिक वर्ष २०८२।०८३ को बैशाख महिनामा २० फण्डको नाफा ऋणात्मक देखिएको छ । ३७ फण्डको नाफा घनात्मक नै देखिएपनि गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने भारी गिरावट देखिएको छ ।

बैशाखमा म्युचुअल फण्डको नाफा ७०.४० प्रतिशतले घटेर ९३ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा फण्डहरुको नाफा ३ अर्ब १५ करोड ४५ लाख रुपैयाँमा सीमित भएको हो ।

प्रभु स्मार्ट फण्ड २३ करोड १ लाख, कुमारी धनवृद्धि योजनाले २३ करोड १ लाख, प्रभु सेलेक्ट फण्डले १७ करोड ९२ लाख, कुमारी इक्विटी फण्डले १७ करोड २८ लाख, रिलायबल समृद्धि योजनाले १२ करोड ५२ लाख, हिमालयन ८०–२० ले ९ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यसअवधिमा सबैभन्दा बढी घाटामा रहेको फण्डमा एचएलआई लार्ज क्याप फण्ड रहेको छ । बैशाख महिनामा उक्त फण्डले ५६ करोड ७७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

त्यस्तै, एनआईबिएल सहभागिता फण्ड २९ करोड १४ लाख, मेगा म्युचुअल फण्ड–१ ९ करोड १४ लाख, एनआईबिएल स्थिर फण्ड ६ करोड १६ लाख रुपैयाँ घाटामा रहेको छ ।

न्याभ पनि निरन्तर घट्दै

चालु आर्थिक वर्षको बैशाख महिनामा अधिकांश म्युचुअल फण्डहरूको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) मा सामान्य उतार–चढाव देखिए पनि समग्र अवस्था सन्तोषजनक देखिएको छैन । प्रकाशित तथ्याङ्कअनुसार धेरैजसो फण्डको न्याभ अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

सबैभन्दा उच्च न्याभ भएको फण्डमा प्रभु स्मार्ट फण्ड रहेको छ, जसको न्याभ १४.८४ रुपैयाँ छ । त्यसैगरी प्रभु सेलेक्ट फण्ड १३.६९ रुपैयाँ र कुमारी सबल योजना १३.१२ रुपैयाँमा रहेका छन् । उच्च न्याभ भएका अन्य फण्डमा एचएलआई लार्ज क्याप फण्ड १२.८७ र ग्लोबल आइएमई समुन्नत योजना–२ १२.६३ रुपैयाँ रहेका छन् ।

त्यस्तै, अधिकांश फण्डहरूको न्याभ १२ रुपैयाँभन्दा तल झरेको देखिएको छ । कुमारी धनबृद्धि योजना, गरिमा सुभार्ण योजना, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम लगायतका फण्डहरू मध्यम स्तरमा रहेका छन् भने धेरैजसो फण्ड १० देखि ११ रुपैयाँको दायरामा सीमित भएका छन् ।

केही फण्डमा मात्र सकारात्मक वृद्धि देखिएको छ । कुमारी सबल योजनाको न्याभ ०.५२ रुपैयाँले बढेको छ भने लक्ष्मी भ्यालु फण्ड–२ मा ०.०४ रुपैयाँको सामान्य सुधार देखिएको छ । बाँकी अधिकांश फण्डमा घट्दो प्रवृत्ति देखिएको छ, जसमा प्रायः फण्डको न्याभ शून्य दशमलव शून्य दुईदेखि शून्य दशमलव चार रुपैयाँसम्म घटेको छ ।

सबैभन्दा कमजोर न्याभ भएको फण्डमा हिमालयन ८०–२० फण्ड रहेको छ, जसको न्याभ ८.८६ रुपैयाँमा सीमित छ । साथै मेगा म्युचुअल फण्ड–१, एनआईसी एशिया डाइनामिक डेट फण्ड, एनआईबीएल ग्रोथ फण्ड लगायतका फण्डहरू पनि तुलनात्मक रूपमा कमजोर प्रदर्शनमा रहेका छन् ।

तस्बिरः एआई

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*