औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब कर्जा, तर उद्योग ४२ प्रतिशत क्षमतामै सीमित

३१ जेष्ठ २०८३, आईतवार १४:३३

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह हुँदै गएको देखिए पनि उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले औद्योगिक क्षेत्रको समग्र क्षमता उपयोग निराशाजनक स्तरमै रहेको निष्कर्ष निकालेको हो ।

अध्ययनअनुसार २०८२ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ७.९९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.६६ प्रतिशतले बढेको थियो । यसले कर्जा विस्तारको गति केही सुस्त भएको देखाएको छ ।

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको हिस्सा ३०.८२ प्रतिशत रहेको छ । क्षेत्रगत रूपमा हेर्दा खानीसम्बन्धी उद्योगमा ०.६७ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २०.६४ प्रतिशत, गैर–खाद्य वस्तु उत्पादन उद्योगमा ३५.६७ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा १२.२६ प्रतिशत, विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.६२ प्रतिशत तथा धातु उत्पादन, मेसिनरी र इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ४.१४ प्रतिशत कर्जा प्रवाह भएको अध्ययनमा उल्लेख छ ।

तर, कर्जा विस्तारसँगै उत्पादन क्षमताको उपयोग भने कमजोर देखिएको छ । सर्वेक्षणअनुसार उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षको ४२.९४ प्रतिशतभन्दा समेत केही कम हो ।

अध्ययनमा समेटिएका १९५ उद्योगमध्ये केही विशिष्ट क्षेत्रहरूमा भने उच्च क्षमता उपयोग देखिएको छ । गार्मेन्ट उद्योगले ९५.७४ प्रतिशत क्षमता उपयोग गर्दै अग्रस्थानमा रहेको छ भने अन्य लत्ता–कपडा उत्पादन गर्ने उद्योगमा ९० प्रतिशत उपयोग देखिएको छ । त्यस्तै जलविद्युत् उत्पादन उद्योगमा ८२.७४ प्रतिशत, टायर तथा ट्यूब उत्पादन उद्योगमा ७६.२० प्रतिशत र चाउचाउ उत्पादन उद्योगमा ७०.०६ प्रतिशत क्षमता उपयोग रहेको छ ।

विभिन्न उद्योगहरूको अवस्था विश्लेषण गर्दा गार्मेन्ट, चिनी, स्टिलजन्य उत्पादन, भटमास तेल, आल्मुनियम, बियर, प्रशोधित छाला, मलम, टायर तथा ट्यूब, रासायनिक पदार्थ, चिरेको काठ, हल्का पेय पदार्थ, मदिरा, बिस्कुट, धागो र सिमेन्ट उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ ।

यता, जि.आई. पाइप, कच्चा छाला, वनस्पति घिउ, चुरोट, इँटा, जि.आई. तार, फलामका छड तथा अन्य धातुजन्य उत्पादन, चप्पल, गहुँको पिठो, प्रशोधित चिया, प्रशोधित दूध, कागज, बिजुलीका तार तथा केबुल र घरेलु धातुका सामान उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग भने घटेको अध्ययनले देखाएको छ ।

प्रदेशगत विश्लेषणमा लुम्बिनी प्रदेशमा उद्योगको औसत क्षमता उपयोग सबैभन्दा उच्च ५०.४४ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा न्यून ३०.८२ प्रतिशत मात्र देखिएको छ । समीक्षा अवधिमा मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा क्षमता उपयोग बढेको भए पनि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने गिरावट आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*