बीमितले पहिला अभिकर्तालाई विश्वास गरेर मात्रै कम्पनीलाई गर्छन्: गोमा

४ असार २०८३, बिहीबार १५:०३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर गोमा कोइराला भण्डारी बीमा क्षेत्रमा २२ वर्षदेखि कार्यरत छिन् ।

बीमा पेशामा सक्रिय रुपमा लागिरहेकी गोमाको आगामी दिनमा पनि यसै क्षेत्रमा रहने योजना रहेको छ। बीमित र कम्पीनका लागि बीमा अभिकर्ता नै पहिलो विश्वास रहेको उनी बताँउछिन् ।

बीमा प्राधिकरण र बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई समान रुपमा हेर्नुपर्ने उनको बुझाई रहेको छ। बीमा पोलिसी बीमितको आर्थिक अवस्था हेरेर गरे सरेण्डरको अवस्था आउन नसक्ने गोमा बताँउछिन् । बीमा क्षेत्रमा दुई दशकको यात्रा बिताईसकेकी गोमाको बीमा अभिकर्तासम्बन्धी अनुभवको बिषयमा बीमापोष्टले गरेको कुराकानीको अंशः

बीमा क्षेत्रमा तपाईं कोबाट प्रेरित भएर आउनुभयो?

म यसको श्रेय आफ्नै श्रीमानलाई दिन्छु। उहाँले बीमा प्राधिकरणको तालीम लिनुभएको रहेछ उहाँ चाहिं टिचिङ क्षेत्रमा हुनुहुन्छ। उहाँले तीनदिने तालीम लिएपछि मलाई बीमा क्षेत्रमा लाग्न प्रेरणा दिनुभयो। म सरकारी विद्यालयको शिक्षिका थिएँ। मैले त्यो पेशा छाडेर बीमा क्षेत्रमा आएको हुँ। तपाईंको विचारमा बीमा अभिकर्ता भनेको कस्तो पेशा हो।

मेरो विचारमा समाजमा गएर वित्तीय सचेतनाको अभिवृद्धि गर्दै बीमा मार्फत् जोखिम रक्षावरण गर्न महत्वपूर्ण भूमिका खेल्ने पेशा नै बीमा अभिकर्ता हो। समाजलाई आर्थिक पाटोमा सुरक्षित राख्न बीमा अभिकर्ताको भूमिका निकै ठूलो छ।

तपाईं भर्खरै बीमा क्षेत्रमा प्रवेश गर्दा अहिलेमा के फरक छ?

वि.सं. २०६१ साल पुसमा धरानमा तालीम लिंदा बीमा बारे मलाई नै थाहा थिएन। पहिले त बीमा भनेको के हो भन्ने नै कसैलाई थाहा थिएन अहिले त कम्तीमा सबैलाई थाहा छ। त्यति बेला सहकारीमा त पैसा डुब्छ बीमा त के हो के हो भन्ने हुन्थ्यो। तर अहिले त्यस्तो छैन। समाजमा बीमाको कुरा गर्न गयो भने मैले त फलानो कम्पनीमा बीमा गरिसकें, म यो कम्पनीमा गर्ने विचारमा छु, बीमा त गर्नुपर्छ भन्ने धारणा सुन्न पाइन्छ। पहिला त्यस्तो थिएन।

सबैभन्दा पहिला मैले म आफैंबाट शुरु गरें। मैले मेरो बीमाको म्याचुरिटी पनि लिसकें। त्यसपछि मैले आफ्नो श्रीमानको बीमा गराएर मात्रै अरुको बीमा गराउन थालेको हुँ। शुरुमा चिनजानकै मान्छेहरूबाट शुरु गरें। मलाई बीमा क्षेत्रमा काम कुरा गर्नलाई कहिल्यै पनि असहज लागेन। सधैं निरन्तर रूपमै लागिरहें बीचबीचमा छाड्ने गरिनँ।

अहिले अभिकर्ताले विभिन्न प्लाटफर्मबाट व्यवसाय गरिरहेका छन् तपाईंले कसरी गरिरहनु भएको छ?

मैलै फिल्डका साथै अनलाइनबाट पनि बीमा व्यवसाय गरिरहेको छु। सरकारले पनि अहिले डिजिटल प्लाटफर्म प्रयोग गरेर बीमा व्यवसाय विस्तार गर्न प्रेरित गरिरहेकै छ। फिल्डमा गएर मान्छे भेटेरै बीमा गराउनु र अनलाइनबाट गराउनुमा केही फरक छ तर देश विदेश जहाँबाट पनि मलाई कन्ट्याक्ट गरेर आवश्यक कागजात पठाएर बीमा गराएमा घरमै बीमा पोलिसी पुराइदिने गर्छु। देशभरी हाम्रो शाखा कार्यालय छ त्यसैले जहाँ पोलिसी पुर्याउन परेपनि सम्बन्धित शाखा कार्यालयले हामीलाई सहजीकरण गरिदिन्छ।

अनलाइनबाट व्यवसाय गर्दा विश्वास कसरी हुन्छ?

बीमितले विश्वास गर्ने मुख्य रूपमा अभिकर्तालाई नै हो त्यसपछि कम्पनी। मैले आज कसैको बीमा गराउछु भने १५ वर्षसम्म निरन्तर फलोअप गर्ने गर्छु। कतिपय अभिकर्ताले बीमा गराएर छाडिदिंदा बीमितकै बिजोग भएको पनि देखेको छु। प्रिमियम तिर्ने समय आएपछि बीमितलाई नै सम्पर्क गरेर सचेत गराउने गर्छु। अहिले कम्पनीले पनि प्रिमियम तिर्ने समय भएपछि म्यासेज गरेको हुन्छ तर विदेशमा भएकालाई म्यासेज जाँदैन त्यस्तालाई सम्पर्कै गर्नुपर्छ। यदि कोही बीमितले प्रिमियम तिर्न आउन समय छैन भनेमा त्यस्तो बीमितको घरमै झोला बोकेर पनि जाने गरेको छु।

अनलाइनबाट बीमा गराउँदा कुनै समस्या भएको छ?

त्यस्तो भएको छैन। म शुरुमै पैसा लगानी गर्ने कुरा हो एकदमै बुजेर गर्नु, आफ्नो विश्वासका लागि कम्पनीकै वेबसाइट खोलेर हेर्न सुझाव दिन्छु। अनलाइनबाट बीमितलाई डिल गरेर कुनै शाखामा पठाइयो भने त्यहाँका साथीहरूले डाइभर्ट चाहिं नगर्र्दिए हुन्थ्यो भन्ने लाग्छ।

तपाईंले अनलाइनबाट र घरदैलोमै पुगेर कत्तिको बीमा गर्नुहुन्छ?

मैले लगभग आधा जति बीमितको घरदैलो मै गएर बीमा गराएको छु भने आधा जति अनलाइनबाट पनि गरेको छु। पछिल्लो एकदुई वर्षयता अनलाइनबाट अलि धेरै नै बीमा गराएको छु। तर अनलाइनबाट गराउनभन्दा बीमितलाई प्रत्यक्ष भेटेर बीमा गराउन धेरै सरल र सहज छ। पहुँचले भ्याएसम्म र परेको खण्डमा भेटेरै बीमा गराउने नत्र भरसक सरकारको नीति अनुरूप अनलाइनबाटै व्यवसाय विस्तार गर्ने विचार छ।

तपाईं बीमा क्षेत्रमा कत्तिको सन्तुष्ट हुनुहुन्छ?

म एकदमै सन्तुष्ट छु। सकेसम्म र स्वास्थ्यले साथ दिउन्जेलसम्म बीमा पेशा छाड्दिनँ म।

हिजो र आजमा बीमितमा कस्तो पोलिसीप्रति रुची देख्नुहुन्छ?

अहिलेको परिप्रेक्ष्यमा बालबच्चा हुने धेरैजनाले बालबच्चाकै बीमा गराउन चाहनुहुन्छ तर बीमितको अवस्था र आयआर्जन हेरेर उपयुक्त हुने बीमा पोलिसी बिक्री गर्न सकिन्छ। किनभने बीमितहरू सबैलाई बीमा पोलिसीबारे थाहा हुँदैन। थाहा हुनेले त्यही अनुसार गरिहाल्नु नै हुन्छ तर थाहा नहुनेको अवस्था र आयआम्दानी बिचार गरेर अभिकर्ता आफैंले सुहाउँदो बीमा पोलिसी बेच्नुपर्छ। अहिले बढी मात्रामा २५ वर्षभन्दा माथि ४५ वर्षभन्दा मुनीका मानिसहरूले मसँग बीमा गराउनु भएको छ।

नेपाल लाइफको वैदेशिक रोजगारीमा शर्ट टाइममा पैसा बुझाएर लङ टाइमको नाफा लिने जीवन ज्योति भन्ने बीमा पोलिसी छ त्यो बढी मात्रामा बिक्री भएको छ। त्यसमा ५० लाखको बीमा गरियो भने ५० लाख नै तिर्न पर्दैन। विदेशमा भएकालाई भोलि नेपाल गएपछि प्रिमियम तिर्न सकिंदैन भन्ने हुँदो रहेछ त्यसैलै विदेश रहुन्जेल ५ वर्षसम्म प्रिमियम तिर्ने र १५ वर्षपछि प्रतिफल पाउने पोलिसी रोजाइमा परेको देखिन्छ।

बीमा बारे केही थाहा नभएकालाई कसरी पोलिसी बिक्री गर्नुहुन्छ?

बीमाको कुरा गर्न गएपछि अहिलेसम्म कसैले सुन्नै नमानेको घट्ना मसँग भएको छैन। कुरा गर्दा मज्जा र सकारात्मक रूपमा नै गर्नुभएको हुन्छ र मैले कुरा गरेको कसैले बीमा गर्दै गर्दिनँ भन्नुभएको छैन। कतिपयले आर्थिक अवस्था, पारिवारिक अवस्था आदिको कारण बीमा गराउन सक्नुहुन्न।

बीमा सचेतना कार्यक्रम कत्तिको भइरहेको छ जस्तो लाग्छ?

अहिले त अभिकर्ताले नै गाउँमा गएर बीमा सचेतना कार्यक्रम गरिरहनु भएको छ। कम्पनीले हामीलाई पहिलेभन्दा अचेल धेरै नै तालीमहरू दिएको छ। बीमा प्राधिकरण र हरेक कम्पनीले अभिकर्तालाई समान दृष्टिकोणले हेरोस् भन्ने लाग्छ। पुराना र नयाँ अभिकर्तालाई फरक ढंगले व्यवहार नहोस्। बीमा प्राधिकरणले सबै कम्पनीमा के भइरहेको छ भने बुझ्न जरुरी छ र त्यो बुझिदिओस् भन्ने धारणा छ।

अभिकर्ता पेशा कत्तिको सुरक्षित छ?

जहाँ इच्छा त्यहाँ उपाय भन्छन्। सुरक्षित नभएको भए म शिक्षण पेशा छाडेर आउने नै थिइनँ। नबुझेकाले असुरक्षित छ पार्टटाइमका लागि मात्र हो भन्ने सोच्नु भएको होला तर बुझेकालाई यो एकदमै राम्रो पेशा छ। अमेरिका, अष्ट्रेलिया जानुको सट्टा यही पेशा अँगालेर मनग्य आम्दानी गर्न सकिन्छ।

अभिकर्ताहरूले कति आम्दानी गर्छन्?

यसमा मुख्य कुरो त कति समय दिइन्छ भन्नेमा भर पर्छ। जो प्रोफेसनल्ली यही पेशामा लागेकाले प्रशस्त आम्दानी गर्नुहुन्छ। ठ्याक्कै यति नै भन्ने त हुँदैन तर हालको जस्तो आर्थिक अवस्था छ त्यसलाई धेरै माथि लैजान सकिन्छ। सामान्य अभिकर्ताले एजेन्सी मेनेजर पदमा पुगेपछि मासिक ४०/५० हजार कमाउनु ठूलो कुरो हुँदैन। सिनियरको चाहिं त्योभन्दा धेरै माथि हुन्छ। अधिकतममा मासिक १० लाखभन्दा बढी आम्दानी गर्ने पनि छन् तर एउटा राम्रैसँग खटिने अभिकर्ताले मासिक १ लाखभन्दा माथि आम्दानी गर्छन्।

तपाईंबाट बीमा गराएकाले बीचैमा छाड्नुभएको छ?

हो छ। बीमा गराउँदा त हामीले अवस्था र आम्दानी दुवै विचार गरेरै बीमा गराएका हुन्छौं तर पछि व्यवसाय डुब्ने, विदेश गएपछि भुल्ने जस्ता कारणले सरेण्डर आएको छ। कसैले शुरुमै ठूलो बीमा गर्नुहुन्छ कसैले सानो, कसैको व्यवसाय डुबेका कारण बीमालाई जारी राख्नसक्नुहुन्न र कतिपयले विदेश गएपछि बीमालाई वास्तै गर्नुहुन्न। यही मुख्य तीन कारणले बीमा सरेण्डर भएको छ।

नेपाल लाइफ कम्पनीको ब्राण्ड भ्यालुले तपाईंलाई काम गर्न सहज भएको छ?

हो यसले धेरै हदसम्म सहज भएको छ। लाइफ फण्ड, बीमित, बीमापोलिसी, शेयरमार्केट जुन सेक्टर हेरेपनि नेपालकै सबैभन्दा ठूलो बीमा कम्पनी हो भनेर भन्न पनि सहज भएको छ। कुनै ठाउँमा अरु कम्पनीका अभिकर्ता र नेपाल लाइफका अभिकर्ता सँगै पुगेका छन् भने बीमितले नेपाल लाइफमै बीमा गराउन इच्छा राख्नुहुन्छ। नेपाल लाइफको मेरुदण्ड मानिने अभिकर्ताको टोली बलियो छ अर्काे कुरा दाबी भुक्तानी, सर्भाइभल, म्याचुरिटी एकैदिनमा र छिटोछरितो हुन्छ यसले पनि कम्पनीको भ्यालु बढेको छ।

तपाईं कम्पनी वा बीमा प्राधिकरणबाट के अपेक्षा राख्नुहुन्छ?

प्राधिकरणले चाहिं प्रत्येक कम्पनीहरूको नियमन एकदमै सुक्ष्म ढंगले गरिदिओस् भन्ने लाग्छ। उसो त सातै प्रदेशमा प्राधिकरणको कार्यालय छ तर कम्पनीहरूमा उहाँहरू आउनुभएको भेटेको छैन। प्राधिकरणले नियमित रूपमा शाखाशाखामै गएर हेरोस् भन्ने लाग्छ। कम्पनीले त सकभर गरेकै छ। प्रदेशमा पनि छुट्टै उत्प्रेरणा कार्यक्रम र मुख्य कार्यालयले पनि छुट्टै कार्यक्रमहरू गरिराखेकै छ। अझै शाखामा पनि कहिलेकाहिं माथिल्लो तहका कर्मचारीहरू आएर तालीम सञ्चालन गरिदिए राम्रो हुन्थ्यो। उत्प्रेरणा कार्यक्रम अझै बढाओस्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*