दुबईबाट फर्केर तीन वर्षमै चम्किए उमाकान्त पौडेल, बने सिटिजन लाइफको दरिलो खम्बा

१२ असार २०८३, शुक्रबार १२:०८

वि.सं. २०३९ साल चैतको ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका उमाकान्त पौडेल यतिबेला चितवनलाई आफ्नो कर्मभूमि बनाएर बीमा मार्फत् आम नागरिकको आर्थिक जोखिम रक्षावरणमा ठूलो भूमिका खेलिरहेका छन्। उनले सिटिजन लाइफको नारायणगढ शाखामा एजेन्सी मेनेजरको रूपमा रहेर बीमा क्षेत्रमा होमिएका छन्।

उनी आजभन्दा करीब ३ वर्षअघि मात्रै बीमा क्षेत्रमा प्रवेश गरेका हुन्। यसअघि उनी रोजगारीको शिलशिलामा दुबईसम्म पुगेका थिए भने विदेशबाट फर्किएपछि स्वदेशमै केही गरौं भनेर फर्निचर व्यवसाय सञ्चालन गरिरहेकै अवस्थामा आफ्नो आँखैअघि घटेको एउटा घटनाले उनलाई बीमाक्षेत्रमा डोर्यायो।

आफ्नै साथी बोनम्यारो सम्बन्धी घातक रोगले ग्रसित हुँदा बीमामार्फत् ५० लाख रुपैयाँ पाएपछि उनमा बीमाप्रति चासो पलायो। अन्ततः उनी सिटिजन लाइफको नारायणघाट शाखाका ब्राञ्च मेनेजर गोकर्ण कार्कीको सरसल्लाहमा अभिकर्ताको रूपमा प्रवेश गरे।

सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका पौडेलले बीमा क्षेत्रमा प्रवेश गर्दा समाजमा बीमाबारे धेरै भ्रम र अविश्वास रहेको सम्झिन्छन्। तर आज उनी यही क्षेत्रलाई आफ्नो जीवनको सबैभन्दा सही निर्णय मान्छन्। पौडेलका अनुसार शुरुवाती दिनमा मानिसहरूलाई बीमाको महत्व बुझाउन निकै कठिन थियो। धेरैले बीमाबारे कुरै गर्न चाहँदैन थिए भने भने कतिपयले अनावश्यक खर्चका रूपमा हेर्थे। यस्ता चुनौतीका बाबजूद उनले धैर्यपूर्वक काम गर्दै आफ्नो पेशागत यात्रा अघि बढाए।

“अभिकर्ता पेशा केवल पोलिसी बेच्ने काम होइन यो मानिसलाई विश्वास बेच्ने पेशा हो।” उनी भन्छन्, “अभिकर्ता एक सम्मानित सेवाको पेशा हो जसले आम नागरिकको भविष्यमा आइपर्ने जोखिमबाट आर्थिक रक्षावरणको काम गर्छ।” उनका अनुसार सफल अभिकर्तामा इमान्दारिता, धैर्यता, निरन्तर सिकाई र प्रभावकारी संवाद क्षमता हुनुपर्छ। समय व्यवस्थापन र ग्राहकसँग विश्वासको सम्बन्ध निर्माण गर्न सक्ने व्यक्ति यस क्षेत्रमा सफल हुने उनको अनुभव छ।

आम्दानीको दृष्टिले पनि अभिकर्ता पेशामा राम्रो सम्भावना रहेको पौडेल बताउँछन्। शुरुआती चरणमा संघर्ष गर्नुपरे पनि अनुभव र ग्राहक सञ्जाल विस्तारसँगै आम्दानी बढ्दै जाने उनको भनाइ छ। यही पेशाले आफूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको मात्र होइन, हजारौं परिवारसँग सम्बन्ध जोड्ने अवसर दिएको उनी बताउँछन्। त्यसैले उनी आफ्नो पेशाबाट पूर्ण रूपमा सन्तुष्ट छन्। भर्खरै आएकाले पनि मासिक ५० हजारसम्म कमाउन सक्ने उनको भनाई छ। पौडेलले दैनिक करीब ४ घण्टा समय दिंदा मासिक रूपमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमाई भइरहेको बताउँछन्।

बीमालाई उनले “आर्थिक सुरक्षा, बचत, भविष्यको लगानी र जोखिम हस्तान्तरणको साधन” को संज्ञा दिएका छन्। उनका अनुसार दुर्घटना, रोग, प्राकृतिक विपत्ति वा अकाल मृत्युजस्ता अनिश्चित परिस्थितिमा बीमाले परिवारलाई आर्थिक संकटबाट जोगाउँछ। “बीमा नभएको अवस्थामा कुनै घातक रोग मात्रै लागेमा पनि ऋण खोज्न बैंक र गाउँघर धाउनपर्ने अवस्था आउँछ।” उनी भन्छन्।

नेपाली समाजमा बीमाप्रतिको धारणा पछिल्ला वर्षहरूमा सकारात्मक बन्दै गएको उनको अनुभव छ। यद्यपि अझै पनि पर्याप्त जनचेतनाको अभाव रहेको उनी स्वीकार्छन्। ग्रामीण क्षेत्रमा बीमाबारे जानकारी कम हुँदा पहुँच विस्तार गर्न थप प्रयास आवश्यक रहेको उनको भनाइ छ। पहिला बीमाबारे सुन्नै नचाहने व्यक्तिलाई पनि अहिले राम्ररी बुझाउन सकेमा सहजै पोलिसी बिक्री गर्न सकिने उनको अनुभव छ। “मैलै एकजना आफ्नै साथीलाई बीमाबारे बोल्दा सुन्नै नचाहेकोले पनि दुई वर्षपछि बीमाबारे बुझ्न ढिला भयो भन्दै आफैं बीमा गराउन आउनुभएको थियो।” उनले आफ्नो अनुभव सुनाए।

बीमा क्षेत्रमा अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको पौडेलको धारणा छ। ग्राहकलाई आवश्यकता र आम्दानीअनुसार उपयुक्त योजना छनोट गराउने, बीमाको सर्त बुझाउने र दाबी भुक्तानीको समयमा सहयोग गर्ने कार्य अभिकर्ताको मुख्य जिम्मेवारीभित्र पर्ने उनी बताउँछन्। “ग्राहक र कम्पनीबीचको सबैभन्दा बलियो सेतु अभिकर्ता नै हो।” उनले भने।

हाल बीमा क्षेत्रमा जनविश्वास विस्तार, स्वस्थ प्रतिस्पर्धा, दक्ष जनशक्ति विकास र वित्तीय साक्षरताजस्ता चुनौतीहरू रहेको पौडेल बताउँछन्। कतिपय अभिकर्ताले आफ्नो टार्गेट पूरा गर्नकै लागि ‘मिस सेलिङ’ गर्ने गरेको उनी बताउँछन्। “अभिकर्ताले आफ्नो टार्गेटभन्दा पनि बीमितको आवश्यकता र आम्दानी अनुसारको उचित पोलिसी बेचेमा बीमित, अभिकर्ता र कम्पनी तीनवटै पक्षलाई फाइदा पुग्छ।” बीमा क्षेत्रको दीर्घकालीन विकासका लागि सर्वप्रथम अभिकर्ता स्वयंले जिम्मेवार भूमिका निभाउनुपर्ने उनको बुझाइ छ। “बीमा गराउनु ठूलो कुरा होइन बीमा बुझाउन सक्नु ठूलो कुरा हो। सही व्यक्तिलाई सही पोलिसी दिनुपर्छ।” अभिकर्ताहरूलाई नियमित तालिम, प्रविधिमैत्री सेवा र व्यावसायिक क्षमता विकासका कार्यक्रम आवश्यक रहेको उनी बताउँछन्। सरकारले पनि बीमाको पहुँच विस्तार गर्ने नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ।

नियामक निकायबाट पारदर्शी, स्थिर र अभिकर्तामैत्री नीति निर्माणको अपेक्षा रहेको पौडेल बताउँछन्। “पहिले बीमामा अस्वस्थ प्रतिस्पर्धा थियो पछिल्लो समय प्राधिकरणले १२ उत्तीर्ण गरेकाले परीक्षा दिएर मात्रै लाइसेन्स पाउने नियम बनाएपछि सक्षम, शिक्षित र राम्रा अभिकर्ताले प्रवेश पाएका छन्।” बीमा कम्पनी, अभिकर्ता र ग्राहकबीचको सम्बन्धलाई अझ विश्वासिलो बनाउने वातावरण सिर्जना गर्न नियामकले सक्रिय भूमिका खेल्नुपर्ने उनको धारणा छ।

केहीले लाइसेन्स लिएर केही समय बीमा गराएर बिचैमा छाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको माग छ। “बीमितलाई त प्रिमियम तिर्ने समय र दाबी क्लेम गर्ने तरिका पनि थाहा हुँदैन अभिकर्ताले नै सहजीकरण गर्नुपर्छ। सामाजिक सञ्जालको माध्यमबाट भए पनि बीमितसँग सम्पर्कमै बस्नुपर्छ।”

उनले अभिकर्ता पेशाको भविष्य पनि सुरक्षित नै देख्छन्। “सफल व्यक्तिले कि आफ्नै विजनेश गरेका हुन्छन् कि एजेन्सीमा काम गरेका हुन्छन्। जतिपनि विकसित राष्ट्रहरू छन् त्यहा एजेन्सी सम्मान र जिम्मेवार पेशा मानिन्छन् नेपालमा पनि त्यस्तै हुनुपर्छ। हरेक पेशामा सम्मान चाहिन्छ।”

हालसम्म उनले कम समयमै ३०० जनाभन्दा बढीको बीमा गराइसकेका छन्। तिमध्ये कसैको पनि सरेण्डर आएको छैन भने एकजनाको घातक रोगको र एकजनाले दुर्घटना बीमा भुक्तानी लिएका छन्। “मैले बुझेर मात्रै बीमा गराएको छु, बलियो सम्पर्क स्थापित गरेको छु त्यसैले सरेण्डर आउने सम्भावना देख्दिनँ।” उनी भन्छन्।

भविष्यतर्फ हेर्दै पौडेल नेपालमा बीमा क्षेत्र अझ व्यापक, प्रविधिमैत्री र जनविश्वासयुक्त बन्नेमा आशावादी छन्। बीमा नगरेका नागरिकलाई उनले आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न बीमालाई प्राथमिकता दिन आग्रह गर्छन्। साथै अभिकर्ता बन्न चाहने युवालाई उनले धैर्यता, इमान्दारिता र सेवाभावका साथ अघि बढ्न सुझाव दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*