इन्ड्राइभ राइडरको विद्रोह: ‘श्रमको मूल्य देऊ, नत्र देश छोड्छौं’

काठमाडौँ । दैनिक सयौ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी, मलेसिया, कोरिया, जापान र युरोपतर्फ उडिरहेका छन् । कसैले ऋण काढेर विदेशको बाटो रोजे, कसैले गाउँघर छाडे, कसैले परिवारको भविष्य उज्यालो बनाउने आशामा आफ्नै देशसँग दूरी बढाए । तर पछिल्ला केही वर्षमा डिजिटल प्रविधिको विस्तारसँगै राइड–सेयरिङ एपहरूले धेरै युवालाई स्वदेशमै रोजगारीको विकल्प देखायो । मोटरसाइकल, मोबाइल फोन र इन्टरनेटको भरमा दैनिक हजारौँ यात्रुलाई सेवा दिँदै उनीहरूले आफ्नै देशमा पसिना बगाएर भविष्य बनाउन सकिने आशा देखे । यही आशाले धेरै युवालाई विदेश पलायनबाट रोकेको थियो । तर आज ती युवाकै अनुहारमा निराशा छ, हातमा प्लेकार्ड छ, घाँटीमा नारा छ र आँखामा प्रश्न छ । उनीहरू सडकमा उभिएर एउटै आवाज उठाइरहेका छन ‘हाम्रो श्रमको मूल्य कहिले पाउँछौँ ?’
काठमाडौंको सडकमा बुधबारदेखि देखिएको दृश्य कुनै सामान्य विरोध प्रदर्शन थिएन । यो सडकमा दिनरात गुड्ने, घाम, पानी, धुलो, जाम र दुर्घटनाको जोखिमसँग जुध्दै यात्रुलाई गन्तव्यसम्म पुर्याउने हजारौँ राइडरको पीडा थियो । स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा इन्ड्राइभका राइडरहरूले कम्पनीले श्रम शोषण गरेको आरोप लगाउँदै उचित पारिश्रमिक, वैज्ञानिक भाडादर र श्रमिक अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् । पहिलो दिन कम्पनीको कार्यालय घेराउ गर्दै धर्ना दिएका उनीहरू दोस्रो दिन माइतीघर मण्डलामा पुगे । उनीहरूको आन्दोलनको मूल उद्देश्य एउटै थियो ‘हामीलाई दया होइन, हाम्रो श्रमको उचित मूल्य चाहिएको हो ।’

राइड–सेयरिङ प्लेटफर्महरूले नेपालमा रोजगारीको नयाँ ढोका खोलेका थिए । विशेष गरी १८ देखि ३० वर्ष उमेर समूहका युवाले यसलाई आत्मनिर्भर बन्ने अवसरका रूपमा लिए । कसैले पढाइसँगै अतिरिक्त आम्दानीका लागि यो पेशा रोजे, कसैले जागिर नपाएपछि यसैलाई मुख्य पेशा बनाए त कसैले विदेश जाने योजना स्थगित गरेर आफ्नै देशमा संघर्ष गर्ने निर्णय गरे । तर उनीहरूको भनाइमा आज त्यो आशा विस्तारै निराशामा बदलिँदै गएको छ । इन्धनको मूल्य बढेको छ, सवारी साधन मर्मत खर्च बढेको छ, बीमा, स्पेयर पाट्र्स र दैनिक सञ्चालन खर्च आकाशिएको छ तर उनीहरूले पाउने भाडादर भने दुई वर्षअघिकै अवस्थामा रोकिएको छ ।
आन्दोलनमा सहभागी राइडर रेश्मा विशुङ्गे आजको विरोधको एउटा सशक्त आवाज बनेकी छन् । उनका अनुसार सरकारले पटक–पटक वार्ता गरे पनि कुनै निष्कर्ष ननिस्कँदा उनीहरू सडकमा आउन बाध्य भएका हुन् । ‘हामी दुई वर्षअघिको भाडादरमै आज पनि काम गरिरहेका छौँ। प्रतिकिलोमिटर ९ रुपैयाँमा कसरी काम गर्ने ? पानी परेको बेला मात्रै २३–२४ रुपैयाँ पुग्छ, नत्र हामी ९ रुपैयाँमै काम गर्छौँ। यसरी कसरी परिवार पाल्ने ? कसरी आफ्नै खर्च धान्ने ? हामी रहरले होइन अधिकारका लागि सडकमा आएका हौँ,’ उनले गुनासो पोखिन् ।

रेश्माको यो प्रश्न केवल एउटी राइडरको व्यक्तिगत पीडा नभई हजारौँ श्रमिकको साझा यथार्थ बनेको छ । एउटा यात्रु गन्तव्यमा पुग्दा उसले देख्ने कुरा केवल मोबाइल स्क्रिनमा देखिएको भाडा हो । तर त्यो यात्रा पूरा गर्न चालकले कति इन्धन खर्चियो, मोटरसाइकलको मर्मतमा कति रकम लाग्छ, सडकमा घण्टौँ जाममा बस्दा कति समय खेर जान्छ र दिनभरको कमाइबाट घरमा कति रकम पुग्छ भन्ने प्रश्न धेरैले सोध्दैनन् ।
इन्ड्राइभले यात्रु र चालकबीच प्रतिस्पर्धाको नाममा भाडादर घटाउने प्रणाली अपनाएको छ । यात्रु कम भाडामा जान चाहन्छ, चालक बाध्यतावश त्यो भाडा स्वीकार्छ । अन्ततः प्रतिस्पर्धाको नाममा श्रमको मूल्य घट्दै जान्छ र घाटामा काम गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । उनीहरूका अनुसार बजारको वास्तविक लागतलाई बेवास्ता गरेर बनाइएको यस्तो प्रणालीले चालकलाई निरन्तर आर्थिक दबाबमा राखेको छ ।
सप्तरीका अभिषेक यादव पनि यही दबाबका प्रतिनिधि पात्र हुन् । दुई वर्षदेखि काठमाडौंमा राइड–सेयरिङ सेवा दिँदै आएका उनीसँग ठूलो सपना थिएन केवल परिवार पाल्ने इच्छा थियो । उनकी श्रीमती, दुई छोरी र एक छोरा काठमाडौंमै बस्छन् । दिनभर मोटरसाइकल चलाउँछन्, राति घर फर्किन्छन् तर महिनाको अन्त्यमा हातमा बचत रहँदैन । ‘अब त विदेश जाने सोच आइरहेको छ । यो गरेर जीवन चल्ने जस्तो लाग्दैन । बजारमा महँगी यति बढेको छ कि आफ्नो र परिवारको खर्च धान्नै सकिएको छैन,’ उनी भन्छन्।

बुटवलका सुमन बोहराको कथा अझ फरक छ । सूचना प्रविधि (आईटी) मा स्नातक गरेका उनी दुई वर्षसम्म शिक्षक पनि बने । तर पर्याप्त आम्दानी नभएपछि उनले राइड–सेयरिङ पेशा रोजे । सुरुमा यो कामले उनलाई आशा दिएको थियो । मेहनत गरे आम्दानी बढ्छ भन्ने विश्वास थियो । तर अहिले उनी त्यो विश्वास गुमाउँदै गएको बताउँछन् । ‘यो देशमा सरकार फेरिए पनि युवाको अवस्था फेरिँदैन जस्तो लाग्छ । रोजगारी सुनिश्चित गर्ने कुरा भाषणमा मात्रै सीमित भयो । अब त खाडी मुलुक भए पनि जाने सोच आएको छ। भिसा लगाउन पाए पुग्यो भन्ने अवस्था आएको छ,’ उनले भने ।
बोहराको कथाले नेपालको श्रम बजारको अर्को पाटो उजागर गर्छ । उच्च शिक्षा हासिल गरेका युवा पनि आफ्नो योग्यताअनुसारको अवसर नपाउँदा वैकल्पिक पेशामा जान बाध्य छन् । तर त्यो विकल्प पनि दिगो बन्न नसकेपछि उनीहरू फेरि विदेशकै सपना देख्न थालेका छन् । यसले केवल व्यक्तिगत निराशा नभई राज्यको रोजगारी नीतिमाथि पनि गम्भीर प्रश्न उठाउँछ ।
राइडरहरूको आन्दोलन केवल केही रुपैयाँ भाडा बढाउने मागमा सीमित छैन । उनीहरू वैज्ञानिक आधारमा भाडादर निर्धारण गर्न, सञ्चालन खर्चको नियमित मूल्यांकन गर्न, चालकमैत्री नीति लागू गर्न, श्रमिकको अधिकार कानुनी रूपमा सुनिश्चित गर्न तथा कम्पनीले आफूहरूलाई साझेदारसरह सम्मान गर्नुपर्ने माग राखिरहेका छन् । उनीहरूको भनाइमा कम्पनीले आफूहरूलाई केवल एपमा जोडिएको प्रयोगकर्ताका रूपमा नभई सेवा सञ्चालन गर्ने मुख्य श्रमिकका रूपमा हेर्नुपर्छ ।
धनगढीका सुशिश सुवेशका बुबा क्यान्सरबाट पीडित छन् । उनी काठमाडौंमा बहिनीसँग बस्दै राइड–सेयरिङ चलाउँछन् र हरेक महिना उपचारका लागि घर पैसा पठाउनुपर्छ । तर बढ्दो महँगी र घट्दो आम्दानीले उनी आफ्नै खर्च धान्न मुस्किल भइरहेको बताउँछन् । ‘विदेश जाऊँ भने बिरामी बुबालाई कसरी छाड्ने ? स्वदेश बसौँ भने बाँच्नै गाह्रो छ। अब के गर्ने भन्ने अन्योल छ,’ उनी भन्छन् ।
देशको अर्थतन्त्र, रोजगारी र श्रम बजारका बहसहरू प्रायः सरकारी तथ्यांक, बजेटका अंक र नीति दस्तावेजमा सीमित हुने गर्छन् । तर सडकमा गुड्ने एउटा राइडरको दैनिक जीवनले ती सबै तथ्यांकको वास्तविक अनुहार देखाइरहेको छ । बिहानदेखि रातिसम्म यात्रु खोज्दै सडकमा बित्ने घण्टा, ट्राफिक जाममा बित्ने समय, घाममा पसिना र वर्षामा भिजेर कमाएको आम्दानी, त्यसबाट इन्धन, मर्मत, किस्ता, बीमा र घरखर्च मिलाउनुपर्ने बाध्यता—यही यथार्थले अहिले राइडरहरूलाई आन्दोलनको बाटोमा ल्याएको छ ।
राइड–सेयरिङ व्यवसायको सुरुवातसँगै ‘जति मेहनत गर्यो, उति कमाइ हुन्छ’ भन्ने धारणा धेरै युवामा थियो । निश्चित समयको बन्धन थिएन, आफ्नै समय मिलाएर काम गर्न सकिन्थ्यो, कुनै कार्यालयको हाजिर थिएन र आम्दानी पनि आफूले गरेको यात्राको आधारमा हुने विश्वास थियो । यही स्वतन्त्रताले हजारौँ युवालाई आकर्षित गर्यो । तर अहिले उनीहरू भन्छन्, स्वतन्त्रताको त्यो सपना क्रमशः लागत र आम्दानीबीचको असन्तुलनमा हराउँदै गएको छ । दिनभर काम गर्दा पनि घर फर्किँदा बचत शून्य जस्तै हुने अवस्था सिर्जना भएको उनीहरूको दाबी छ ।
माइतीघर मण्डलामा देखिएको उपस्थित अधिकांश अनुहार युवा थिए । कसैको काँधमा परिवारको जिम्मेवारी थियो, कसैको सपना अझै अधुरो थियो, कसैले बिरामी अभिभावकको उपचारका लागि संघर्ष गरिरहेको थियो भने कसैले सन्तानको भविष्यका लागि पसिना बगाइरहेको थियो । उनीहरूका हातमा देखिएका प्लेकार्ड केवल नाराका कागज थिएनन्, ती जीवनका कठिन अनुभवले लेखिएका मागपत्र थिए
आजका युवा विदेश जान चाहँदैनन् भन्ने होइन तर धेरै युवा आफ्नो परिवार, आफ्ना बुबाआमा, आफ्ना सन्तान र आफ्नै माटोसँग बसेर सम्मानजनक जीवन बिताउन चाहन्छन् । यदि स्वदेशमै श्रमको उचित मूल्य पाइयो भने उनीहरू यहीँ संघर्ष गर्न तयार छन् । तर श्रमको मूल्य घट्दै जाने, महँगी बढ्दै जाने र भविष्य अनिश्चित बन्दै जाने अवस्था रहिरह्यो भने विदेश पलायनको लहर रोक्न झन् कठिन हुनेछ । यदि समयमै यी आवाज सुनिएनन् भने आज इन्ड्राइभका कार्यालयअघि उभिएका युवाको भीड भोलि फेरि विमानस्थलको प्रस्थान कक्षमा देखिन सक्छ ।











